नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १६ की ८० बर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनी आइतवार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी थिइन् । उनको सोमवार स्वाव संकलन गरि परीक्षणका लागि भेरी अस्पताल पठाइएको थियो । उनको मंगलवार दिउँसो रिपोर्ट पोजेटिभ आएको थियो ।
तर ती महिलाको मृत्यु भने मंगलवार विहान ७ बजेतिर नै भइसकेको थियो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित रहेको चिकित्सकहरुले बताएका छन् ।योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।