नेपालगञ्ज : बाँकेका विभिन्न आइशोलेशनबाट बिहीबार ८८ वर्षिय पुरुषसहित २४ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बिहीबार ३ महिला र २१ जना पुरूष डिस्चार्ज भएका हुन ।
डिस्चार्ज हुनेमा हालसम्मकै संक्रमितहरू मध्ये बढि उमेर भएका एक पुरूषले समेत कोरोना जितेका छन् । बिहीबार कृषि तालिम केन्द्र खजुरा आईसोलेसन सेन्टरबाट एक ८८ वर्षीय बृद्वले कोरोना पराजित गरि घर फर्किंदै छन् । ती बृद्व जानकी गाउँपालिका वडा न–३ का हुन ।
डिस्चार्ज हुँदै गर्दा ती जेष्ठ नागरिकले भने–‘ आत्मबल दह्रो राख्ने हो भने कोरोना सजिलै परास्त गर्न सकिन्छ । संक्रमण हुने बित्तिकै सबै सकिन्छ भन्ने धारणा त्यग्दै स्वास्थ्य सजगता अपनाउदै आत्मबल दह्रो राख्नुपर्छ ।’ उनले आफु आईशोलेशनमा आउदा केही कमजोर भएको महशुस गरेको तर, आईशोलेशनमा आईसकेपछि नियमित व्यायम, तातोपानीको प्रयोगले आफुले कोरोना परास्त गर्न सकेको दाबी गरे ।
सो आईशोलेशनबाट ५ जना डिस्चार्ज भएका छन् । उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह र पालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले आइशोलेशनबाट बिदाई गरेका थिए ।
यसैगरी बिहीबार नै कौशिल्यानगर नेपाली सेनाको तालिम केन्द्रबाट १७ जना डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा डिस्चार्ज हुनेको संख्या ७ सय ८३ पुगेको छ ।
जिल्लामा बुधबारसम्म १ हजार ९५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणका कारण ६ जनाले ज्यान गुमाई सकेका छन् ।