सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको संत्रासका बीचमा नेपालगञ्जका स्थानीयले उपमहानगरले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न माग गरेका छन ।
कोरोना भाइरसको सन्त्रासका बिच नेपालगञ्जमा सामाजिक दुरी कायम नगरेरै बैंकबाट भत्ता वितरण गर्न शुरु गरेपछि लाभग्राहीहरुले कोरोनाको जोखिम मोलेरै बैंकमा पुग्दा अति नै भिडभाड बढेकोले घरमै वितरण गर्न माग गरेका हुन ।
आईतबार नेपालगन्जको धम्बोजीमा रहेको साँग्रीला डेभलपमेन्ट बैंकमा भत्ता बुझ्न लाईन लागेका नेपालगञ्ज वडा नं. २ र १२ का जेष्ठ नागरिक, एकल महिला लगायतले नेपालगञ्जमा २४ जनामा कोरोना पुष्टि भएको अवस्थामा आफुहरु जोखिममा रहेको अवस्थामा घरघरमै सामाजिक सुरक्षा भत्ता पुराई दिन आग्रह गरेका हुन ।
नेपालगन्ज–२ घरबारीटोलकी रामानारी कोरीले कोरोना भाइरसको संक्रमण फैलन डरका कारण मास्क लगाउने, टाढा बस्ने, एक अर्कालाई नछुने भनिएको भएपनि ठेलम ठेल भिडभाडका बिचमा समाजिक सुरक्षा भत्ताको लागि बैंक आएको गुनासो गरिन । उनले वडा कार्यालयले यो संक्रमण फैलने खतराको बेलामा घरघरमै भत्ता बुझाउन जानुपर्ने सुझाव दिईन ।
जेष्ठ नागरिक भत्ता लिन अशक्त अवस्थाकी ठूली आमाको साथी भएर बैंक पुगेका नेपालगन्ज–२ बसपार्करोडका अनुज श्रेष्ठले बैंकमा लागेको भिडले झनै आतंकित बनाएको बताए । उनले संक्रमण फैलने त्रासको कारण लकडाउन गरिएको बेलामा बैंकको सहयोग लिएर घरघरमा पुराउने बताबरण मिलाउन आग्रह गरे ।
लामो समयसम्म सामाजिक भत्ता वितरण हुन नसकेपछि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २ र १२ ले साँग्रीला डेभलपमेन्ट बैंकसंग समन्वय गरेर भत्ता वितरण गर्न शुरु गरेको वडा नम्वर १२ का वडा सचिव केदारप्रसाद अधिकारीले जानकारी दिए । उनले थोरै जनालाई सामाजिक दुरी कायम गरेर वितरण गर्न भने पनि जनशक्ति अभावमा बैंकमा भिडभाड बढेपछि सोमबारदेखि वडा कार्यालयबाटै वितरण गर्ने तयारी थालेको बताए ।
कोरोनाको संक्रमण फैलने डरले पुरै विश्व ठप्प रहेको अवस्थामा सामाजिक दुरीको समेत ख्याल नगरी भिड लगाउदा जोखिम बढेर आउने खतरा छ । विश्व स्वास्थ्य संगठनले दिर्घरोगी, रोगप्रतिरोधात्मक क्षमता कम भएका विरामी र ज्येष्ठ नागरिकमा कोरोना भाइरसको संक्रमण दर तिब्र रहेको भन्दै सचेत रहन अनुरोध गरेको छ । तर कोरोनाको जोखिमयुक्त क्षेत्रमै यसरी सामाजीक दुरी बिनै भिडभाड गर्दा यसले ठुलो दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यसतर्फ सचेत हुन जरुरी छ ।