सदरलाइनडटकम,
काठमाण्डौ : चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ । यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको संक्रमण भेटिएको छ ।
यी सबैमध्ये नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन । जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको छ । कोरोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा संक्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
कोरोनाको तथ्याङ्क दिइरहेको वर्ल्डोमिटर ले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग लगाएको छ । हरियो रङ्गको मतलब ‘अहिलेसम्म कोरोना संक्रमण देखिएका व्यक्ति निको भएको र अरु संक्रमित नभएको’ उल्लेख गरेको छ ।
यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सूचीमा हरियो रंगमा राखिए पनि अहिले कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना संक्रमत नभेटिएको देश भएको हो । कोरोना फैलिएको १ सय ६२ देशमा अझै पनि कोही न कोही संक्रमित भेटिएको वा यसअघि संक्रमण भेटिएका व्यक्तिको ज्यान गएपनि नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएको छैन ।