सदरलाइनडटकम,
काठमाण्डौ : दक्षिण कोरियाली सरकारले चर्चका पादरीहरुले घटना लुकाउँदा कोरोनाको संक्रमण फैलिएको भन्दै छानबिन शुरु गरेको छ । सिञ्चेओन्जी चर्चले सङ्क्रमितको नाम लुकाएपछि कोरिया सरकारले धार्मिक सम्प्रदायका नेताहरुमाथि अनुसन्धान थालेको बीबीसीले जनाएको हो ।
आफूलाई जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्याउने विश्वास गर्दै भाइरस सङक्रमण सारेको कोरिया सरकारको आरोप छ ।
राजधानी सियोलको स्थानीय सरकारले चर्चका संस्थापक म्यान ही र अरु ११ जनामाथि अनुसन्धान थाल्न निर्देशन दिएको बीबीसीले जनाएको छ । अहिलेसम्म दक्षिण कोरियामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने ३ हजार ७ सय ३६ जनामा संक्रमण भएको बीबीसीले जनाएको छ ।
दक्षिण कोरियामा संक्रमितको संख्या हरेक घण्टा बढिरहेको कोरियाली सञ्चार माध्ययमले जनाएका छन् । अहिले चीनपछि दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको अवस्था सबैभन्दा खराब रहेको छ ।
यसैबीच कोरोना संक्रमणबाट संसारभर ज्यान गुमाउनेको संख्या तीन हजार ५३ पुगेको छ । संसारभर ८९ हजारभन्दा धेरै कोरोना संक्रमित भएका छन् भने ४५ हजार १ सय ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
चीनको वुहानबाट सुरु भएको कोरोना सङ्क्रमण ६५ भन्दा धेरै देशमा फैलिसकेको छ भने विश्व स्वास्थ्य संगठनले विश्वव्यापी समस्या ल्याएको भन्दै उच्च सतर्कता अपनाउन विश्वका सबै देशलाई अनुरोध गरेको छ ।