एकलाख मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीको फन्दामा

३० श्रावण २०७५, बुधबार १५:१४
 

सदरलाइनडटकम,
नेपालगन्ज : सशस्त्र प्रहरीले करीब एकलाख मूल्य बराबरको अवैध सामान बरामद गरी कारबाहीका लागि सम्बन्धित ठाउँमा बुझाएको छ । सशस्त्र प्रहरीले नेपालगन्ज वडा नं. १६ चौलिक्का चौक र वडा नं. १५ पिप्रहवाबाट लेडिज शुट र कुखुराको चल्ला बरामद गरी बुझाएको हो ।
सशस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट (बीओपी)¬ कालाबञ्जरबाट गएको सशस्त्र प्रहरी निरीक्षक गणेशकुमार सिँह नेतृत्वको टोलीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ पिप्रहवाबाट कुखुराको चल्ला र कपडा बरामद गरेको हो ।
भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरिएको १९ हजार ६ सय मूल्य बराबरको ५६ थान लेडिज शुट र ४० हजार मूल्य पर्ने कुखुराको ५ सय गोटा चल्ला बुधवार विहान ५ बजे बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले बताए ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर बाँके नं. ३० गणबाट सशस्त्र प्रहरी सहायक निरीक्षक शेरबहादुर बुढाक्षेत्रीको नेतृत्वमा बुधवार विहान गएको गस्ती टोलीले चौलिक्का चोकबाट १७ हजार ५ सय मूल्य बराबरको ५० थान लेडिज शुट बरामद गरेको छ ।
सशस्त्र प्रहरीको टोली देखेर सामान फालेर तस्करहरु फरार भएको सशस्त्र प्रहरी उपरीक्षक शाहले जानकारी दिए । बरामद गरिएको कुखुराको चल्ला पशु क्वारेन्टाइनमा बुझाइएको छ भने कपडा आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।


Next Post

आत्मनिर्भरताको बाटोमा प्रदेश नं ७

३० श्रावण २०७५, बुधबार १५:१४
प्रकाश सिलवाल/रासस धनगढी, अघिल्लो आर्थिक वर्षको पूरक बजेटका लागि जिल्लागत प्रस्ताव माग्दा डेढ सयवटा मन्दिर बनाउने प्रस्ताव आएको थियो । प्रदेश नं ७ को सरकारले त्यसका लागि रकम विनियोजन गरेन । यस्ता कार्यक्रमले प्रदेशमा उत्पादकत्व नबढाउने भएकाले रकम विनियोजन नगर्ने बरु अध्ययन अनुसन्धानमा अनुदान दिने सूत्र प्रदेश सरकारले लगायो । […]