सदरलाइनडटकम,
दाङ : दाङको बेलझुण्डीमा सञ्चालन हुन लागेको प्रदेश एक्स्पोलाई प्रभावकारी बनाउन संघीय सांसद र प्रदेश सांसदसँग छलफल भएको छ । जिल्ला समन्वय समितिमा शुक्रबार सांसदहरुसँग छलफल भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख तथा प्रदेश एक्स्पो मूल समारोह व्यवस्थापन तथा कार्यक्रम सञ्चालन उप समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षता भएको छलफलमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रदेशसभा सदस्यहरु दामा शर्मा, इन्द्रजित चौधरी, अमरबहादुर डाँगी, सरस्वती गौतम, अर्जुनकुमार श्रेष्ठ, समन्वय समितिका उप्रमुख श्रीधर शर्मा पौडेल र महेन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक मेनका पोख्रेलको सहभागिता थियो ।
छलफलले सवै राजनीतिक दलहरुलाई प्रदेश एक्स्पोमा आ–आफनोतर्फबाट जनसहभागिता गराउन अनुरोध गर्ने निर्णय भएको समन्वय अधिकारी काशी राम गैरेले जानकार िदिए ।
प्रदेश एक्स्पोमा सवैपालिकालाई प्रत्येक वडाहरुबाट वडास्तरीय व्यानर सहितको उपस्थित गराउने, जिल्ला स्थित सवै संघ÷ संस्थाहरुलाई उपस्थितको लागि अनुरोध गर्ने, जिल्लाका सवै विद्यालयहरुलाई आ आफना विद्यार्थीहरुलाई प्रदेश एक्स्पोमा अवलोकन गर्ने व्यवस्था मिलाउनको लागि शिक्षा विकास तथा समन्वय इकाईलाई पत्रचार गर्ने निर्णय गरेको उनले बताए ।
छलफलले प्रदेश एक्स्पोको व्यवस्थापन अझ प्रभावकारी बनाउन प्रदेश सांसदहरुलाई अनुगमन तथा निर्देशन दिन अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश ५ सरकारले प्रदेश एक्स्पोको अहिले तयारी तिब्र पारेको छ । यही फागुन १०, ११ र १२ गते प्रदेश सरकारको आयोजनामा बेलझुण्डीमा एक्स्पो सञ्चालन हुन लागेको छ ।