सदरलाइनडटकम,
नेपालगञ्ज : ए.जि. सर्भिस प्रालि नेपालगञ्जको आयोजनामा ‘दोस्रो नेपालगञ्ज महोत्सव २०७६’ सञ्चालन हुने भएको छ । नेपालगञ्जमा बुधवार गरिएको पत्रकार सम्मेलनमा फाल्गुन २१ देखि चैत्र २ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिइएको हो ।
नेपाली गीतसंगीत, कला, संस्कृति, भाषा, पर्यटन, अध्ययन, आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई बेरोजगार युवाहरूलाई रोजगार दिने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
दिउँसो १२ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने महोत्सवमा रात्रीकालिन म्युजिकल नाइट सोसँगै होमस्टे पनि रहने एजि सर्भिसका अध्यक्ष नन्दबहादुर बुढाले जानकारी दिए ।
नेपालगञ्ज वडा नम्बर १ स्थित वाटरपार्कको खुल्ला प्राङ्गणमा महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवमा करीब ३ सय बढी स्टलहरु रहनेछन् ।
