सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले मंगलवार आयोजना गरेको सार्वजनिक सुनुवाईमा खजुराबासीले चासो पूर्वक भाग लिएका छन् । खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र त्यसको प्रभावकारिताबारे आयोजित सार्वजनिक सुनुवाईमा भाग लिँदै गाउँपालिकाबाट प्रवाह हुने सेवा र त्यसका कमी कमजोरीबारे खुलेर प्रश्न उठाइएका थिए ।
उनीहरुले पटकपटकको वर्षाले कृषि क्षेत्रमा असर गर्दै बिऊसम्म नजोगिने गरी नष्ट गरेकोमा गाउँपालिकाले किसानलाई हेर्नु पर्ने, खजुराका पर्यटकीय सम्भावना बोकेका क्षेत्रको पहिचान गरेर विकास गर्नु पर्ने, लक्षितवर्गका कार्यक्रमलाई प्रभावकारीरुपमा अगाडि बढाउनु पर्ने, आर्सेनिक पानीबाट मारमा परेको, किरणनालाको पुल सुधार गर्नुपर्ने, लागुऔषध दूब्र्यसनजस्ता कुराहरु उठान गरे ।
८ वटै वडाबाट सहभागीले उठाएको प्रश्नको जवाफ खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा नं. २ का वडाध्यक्ष देविलाल खनाल, वडा नं. ३ का वडाध्यक्ष कान्तुराम गौतमलगायतका वडाध्यक्षहरुले दिँदै सुझाव कार्यान्वयमा लैजाने प्रतिवद्धता जनाए ।
चालू आर्थिक वर्षको ६ महिनामा गाउँपालिकाले गरेका विभिन्न गतिविधि, आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख कक्षपतिले विषयगत शाखाहरुले गरिरहेको कार्यप्रगतिका साथै वडाहरुमा भइरहेको विकास निर्माण लगायतका कुराहरुको जानकारी गराए ।
खजुरामा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुदको विकासमा गाउँपालिकाले प्राथमिकताका साथ अगाडि बढिरहेको, विकास निर्माणमा गत आर्थिक वर्षमा १८ किलोमिटर सडक कालोपत्रे गरेकोमा यो वर्ष २१ किलोमिटरका लागि टेण्डर भएर प्रक्रिया अगाडि बढाइएको, बहुउद्देशीय सभाहल निर्माणको प्रक्रियामा रहेको, गाउँपालिकाको भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको, शीतभण्डार, औद्योगिक ग्रामको काम पनि अगाडि बढेको जस्ता थुप्रै विकासका काम अगाडि बढेको प्रमुख कक्षपतिले प्रस्तुत गरेको प्रतिवेदनमा समेटिएको छ ।
बासले सहजीकरण गरेको सार्वजनिक सुनुवाईमा खजुराका विभिन्न वडाहरुमा गरिएको सर्वेक्षणमा पनि नागरिकले प्राप्त गरेको सेवाबारे राम्रो रहेको औल्याएको छ । कार्यक्रमको अन्त्यमा सेवा प्रवाहलाई चुस्त दुरुस्त र जनअपेक्षा अनुकूल बनाउन १० बुँदे प्रतिवद्धतामा हस्ताक्षर भएको छ ।