‘देश समृद्धिमा कलाकारको भूमिका महत्वपूर्ण’

२२ पुष २०७६, मंगलवार १७:२३
 

सदरलाइनडटकम,
दाङ : प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले मुलुकको समृद्धिका लागि कलाकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । दाङको घोराहीमा मंगलवारदेखि शुरु भएको प्रदेशस्तरीय बुद्ध सरयू चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले परिवर्तनका लागि कलाकर्मीहरुले खेलेको भूमिकाको चर्चा गरे ।
परिवर्तित अवस्थामा चलचित्र विकास बोर्डको नीति बदल्नुपर्ने भन्दै सभामुख घर्तीले पुराना मान्यतालाई भत्काउँदै नयाँ शिराबाट नेपाली चलचित्र अगाडि बढ्नुपर्ने बताए । कानुन निर्माणको काम सम्पन्न गरी विकास र समृद्धिको यात्रामा प्रदेश ५ अगाडि बढिरहेको भन्दै सभामुख घर्तीले प्रदेश ५ लाई मुलुककै उत्कृष्ट प्रदेश बनाउने लक्ष्य प्रदेश सरकारले लिएको जानकारी दिए ।
प्रदेश ५ संस्कृति र सभ्यताले भरिपूर्ण प्रदेश भएको भन्दै उनले सभ्यता र संस्कृतिको जगमा टेकेर प्रदेश ५ लाई मुलुककै उत्कृष्ट पर्यटनको गन्तव्य बनाउने जिकिर गरे । कार्यक्रममा चलचित्र विकास वोर्डका पूर्व अध्यक्ष डा. अमर गिरीले चलचित्र विकास वोर्डको विधान नबलिँदासम्म नेपाली चलचित्रको विकास हुन नसक्ने दाबी गरे । आधा शताब्दी बिताएको नेपाली चलचित्र उद्योगले चलचित्र जागरणमा सफलता प्राप्त गर्न नसक्नु दुखद् पक्ष्य रहेको भन्दै गिरीले नेपाली चलचित्रको विकासको बाधक कर्मचारी प्रशासन रहेको बताए ।
तीन दिनसम्म चल्ने चलचित्र महोत्सवमा प्रदेश ५ को चलचित्रको इतिहास, सम्भावना र चुनौतिको विषयमा गम्भीर छलफल हुने आयोजक संस्था पहल सञ्चार अभियानका संयोजक केएल पीडितले जानकारी दिए । कार्यक्रममा प्रदेश ५ को कला साहित्यको विकासका लागि भएका प्रयासको बारेमा पनि छलफल हुने पीडितले बताए ।

Next Post

एचसीआरसी कप दुईसाता सारियो

२२ पुष २०७६, मंगलवार १७:२३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा हुने भनिएको एच सी आर सी कप ब्याडमिन्टन टुर्नामेन्टको दोश्रो संस्करण दुई साता पछि सारिएको छ । आयोजक संस्था एच सी आर सी अस्पताल नेपालगञ्जले मंगलवार प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । यसअघि पौष २४ गतेदेखि ३ दिनसम्म सञ्चालन हुने भनिएको प्रतियोगिता बिद्यार्थीहरुको परीक्षालाई […]