नक्कली नोटसहित चार बंगलादेशी पक्राउ

८ पुष २०७६, मंगलवार १६:३९
 

सदरलाइनडटकम,
काठमाण्डौ : नक्कली नेपाली रुपैयाँसहित मध्यपुर थिमि १ लोकल्थलीबाट ३ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बंगलादेशको नेत्रकुना घर भई हाल मध्यपुर थिमि १ लोकल्थलीस्थित लक्ष्मी सिलाई केन्द्रमा कार्यरत ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा र बंगलादेशको फरिदपुर घर भएका २६ वर्षीय सुनम खानलाई प्रहरीले पक्राउ गरेको हो ।
सुमनलाई काठमाडौं पेप्सीकोला टाउन प्लानिङमा लुकिछिपी बसिरहेको अवस्थामा र बाँकी तीन जनालाई लोकल्थलीस्थित डेराबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक विक्रमकुमार थापाले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट १८ थान एक हजारका नक्कली नोटसमेत बरामद गरेको छ । प्रहरीका अनुसार फरार अभियुक्त खानले गत बिहीवार मध्यपुर थिमि १ लोकल्थलीस्थित परिधि गिफ्ट सपबाट दुई हजारको सामान खरिद गरेका थिए ।
सो क्रममा खानले दिएको एक हजारका दुई वटा नोट शंका लागि जाँच गर्दा नक्कली भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्काल प्रहरी घटनास्थल पुगेर अनुसन्धान गर्ने क्रममा सुमन खान फरार भएको र उनको कोठामा खानतलासी गर्दा १६ थान नक्कली एक हजारका नोट बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
सोही क्रममा खानसँगै एउटै कोठामा बस्दै आएका तीन बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका चारै जनालाई मुद्रासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

क्रिश्चियन धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

८ पुष २०७६, मंगलवार १६:३९
सदरलाइनडटकम, नेपालगञ्ज : प्रभु येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले बुधवार क्रिसमस दिवस मनाउँदै छन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको इसाई समाज […]