सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाको मुख्य सडक सरसफाईको लागि आव्हान गरिएको बोलपत्रमा चलखेल गरी नियम मिचेर कार्यक्षेत्र भन्दा बाहिर गई टेण्डर पारिएकोे छ ।
उप–महानगरले मुख्य सडक सरसफाईका लागि गत भदौ २ गते १ करोड ३४ लाखको ईबिड मार्फत बोलपत्र आव्हान गरेको थियो । कुनै पनि हार्डकपी मन्य नहुनेगरी आव्हान गरिएको बोलपत्रमा सो बोलपत्र देव सरसफाई सेवा प्रा.लि कोटेश्वर काठमाण्डौलाई पारिएको छ ।
बोपलपत्र पेश गर्दा देब सरसफाईले कुनै पनि प्रमाणित कागजपत्र पेश नगरेको हुँदा हुँदै पनि उपमहानगर बोर्ड समेतलाई प्रभावमा पारेर मुख्य सडकको सरसफाईको जिम्मा दिईएको हो ।
सो बोलपत्रमा देव सरसफाईले १ करोड ८ लाख ८८ हजार ६ सय ८०, खुकुरी नेपाल सेक्युरेटिज प्रालि काठमाण्डौले १ करोड २४ लाख १३ हजार ७ सय ७८ रुपैयाँ ८५ पैसा, स्वच्छ नेपाल हाम्रो अभियान नेपालगञ्जले १ करोड २७ लाख ४४ हजार ३ सय ५४ रुपैया ७० पैसा र डिलक्स सेक्युरिटि काठमाडौले १ करोड ३० लाख ९५ हजार ४ सय रुपैया ५० पैसामा बोलपत्र पेश गरेको भएपनि खरिद नियमावलीलाई टेकेर सबैभन्दा थोरै रकमको बोलपत्र हाल्ने देव सरसफाईलाई कामको जिम्मा दिएको उपमहानगरले दाबी गरेको छ । जबकी बोलपत्र आव्हानको सूचनामा तोकिएको प्रकृया नै पुरा नगरेको देव सरसफाईलाई उपमहानगरको आर्थिक प्रशासनले प्रकृयामा समावेश गरी बोलपत्र उसैको पक्षमा दिनुले अनियमतता भएको हुनसक्ने देखिएको छ ।
‘रित नपुगेका र शर्त राखिएका बोलपत्रहरु आफै खारेज हुने वा प्रकृयामा सामेल नहुने बोलपत्रको बुँदा नं.८ मा उल्लेख भएपनि त्यसतर्फ आँखा चिम्लेर बोलपत्र पारिएको छ’– उपमहानगर निकट स्रोतले भन्यो ।
देव सरसफाईले बोलपत्र पेश गर्दा र खोल्दासम्म पनि बुटवल कार्यक्षेत्रको मात्र श्रमिक आफूर्ति ईजाजत लिएको तर, नेपालगञ्ज कार्यक्षेत्रका लागि ईजाजत नलिएको भन्दै श्रम तथा व्यावसाय जन्य सुरक्षा विभागले देव सरसफाईलाई आफ्नो कार्य क्षेत्र भन्दा बाहिर नजानको लागि असोज २८ गते ध्यानाकर्षण पत्र समेत पठाएको छ ।
‘थोरै रकम राखेर प्रकृया नै पुरा नगरी पेश गरेको बोलपत्र कसरी पास भयो यो आश्चर्यको विषय बनेकोले हामीले सूचनाको हक सम्बन्धित अधिकारको प्रयोग गरी कात्तिक ३ गते सुचना माग्यौ तर उपमहानगरले कुनै रेस्पोन्स नै गरेन’–खुकुरी नेपाल सेक्युरिटिजका मार्केटिङ्ग म्यानेजर रतन चलाउनेले भने ।
रित नपुगी परेको देव सरसफाईको बोलपत्र पहिलो चरणमै खारेज हुनु पर्नेमा खारेज नगरी टेण्डर पारिनु आर्थिक चलखेलको उपज नै भएको उनको दाबी छ ।
नेपालगञ्ज उपमहानगरले श्रम ईजाजत लिएर सम्झौताको लागि आउनको लागि देव सरसफाईलाई पत्रकाटे पनि तोकिएको समयमा ईजाजत ल्याउन नसक्दा पनि सम्झौता गरिनुले आर्थिक अनियमितता भएको छर्लङ्ग छ ।
नेपालगन्ज उपमहानगरलालिकाको आर्थिक प्रशासन शाखाले सबै रित पुराएर देव सरसफाईलाई बोलपत्र परेको जनाएको छ । ‘हामीलाई अरु प्रकृया भन्दा पनि खरिद ऐन अन्तरगत सबै भन्दा थोरै रकम कबुल गर्ने कम्पनीलाई बोलपत्र स्वीकार गरी सम्झौता गरेको हो’–आफुलाई कोड नगर्ने सर्तमा एक कर्मचारीले बताए ।