सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रको मुहार फेर्नका लागि आधुनिक सडक निर्माणका लागि प्रक्रियाअगाडि बढाइएको छ । बजारका पाँचैवटै गल्लीमा ठूलो लगानीमा नाली सहितका पक्की सडक निर्माण गरिने भएका हुन् ।
क्षेत्रीय शहरी विकास आयोजनाले एशियाली विकास बैंकको ऋण सहयोगमा भीमदत्त नगरपालिकासँगको सहकार्यमा पाँचै गल्लीमा सडक बनाउन लागेको हो । बजारका सबै गल्लीमा नालीसहितका सडक निर्माण प्रक्रिया शुरु गरिएको छ । नगरपालिकाले सडक निर्माणका लागि एक अर्ब ७६ करोडको टेण्डर आव्हान गरिएको छ ।
गुरु योजना बनाएर बसाइएको महेन्द्रनगरलाई व्यवस्थित र आधुनिक बनाउन भीमदत्त नगरपालिकालाई नगर प्रमुख सुरेन्द्र विष्टले बजारमा नाली सहितका सडक बनाउन प्रक्रिया अघि बढाएका छन् । बजारका पाँचै गल्लीमा १३ दशमलव ८५ किलोमिटर नालीसहित सडक निर्माणका लागि प्रक्रिया शुरु गरिएको नगर प्रमुख विष्टले जानकारी दिएका छन् ।
