मधेशी समुदायमा भुर्की पूजेर मनाइयो भैयादुज

१२ कार्तिक २०७६, मंगलवार १६:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पहाडी समुदायमा दाजुभाइको सुख, शान्ति र दीर्घायूको कामना गर्दै तिहारमा भाइटीका लगाएझैँ पश्चिम नेपालका मधेशी समुदायमा मंगलवार भैयादुज अर्थात् भुर्की पूजा गरी मनाईंदै छ । तिहारको अन्तिम दिन भैयादुजमा भुर्की पुजन गरी सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आआफ्ना दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाइ खुवाएर मनाउने गरिन्छ ।
भुर्की पनि मिठाइको हुने गरेको अवधि साहित्य प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमालले जानकारी दिए । घरको आँगनमा गाईको गोबरले लिपपोत गरी दाजुभाई, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वनजगंलको चित्र कोरिन्छ । जंगलमा पाइने कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने चलन रहेको उनले बताए ।


सो सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाइको मूर्ती बनाएर पूजा गरिन्छ । गाउँ टोलका सम्पूर्ण महिला एउटा घरमा एकजुट भई सामूहिक रुपमा भुर्की पूजन गर्ने परम्परा रहेको अवधी संस्कृतिका जानकार प्रेमनारायण पाठकले बताए । ‘त्यस क्रममा भाइबहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न कथा पनि सुनाउने गरिन्छ,’ उनले भने, ‘भुर्की पूजनका क्रममा दिदीबहिनीले बिहानैदेखि ब्रत बसेर आ–आफ्नो दाजुभाइको सुख, शान्ति, उन्नति, सुस्वास्थ्य, प्रगतिलगायतको कामना गर्दछन् ।’



भाइटीकाको उत्तम समयमै अवधी समुदायले भुर्की पूजन गर्दछ । पूजा गरिएको चिउरा भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कात्तिक पूर्णिमासम्म पनि खुवाउने प्रचलन रहेको पाठकले बताए । दिदीबहिनीले दाजुभाइलाई वर्षको दुईपटक सम्झिने प्रचलन छ । एक पटक रक्षा बन्धनमा र अर्को भैयादुज अर्थात् भुर्की पूजनका बेला दिदीबहिनीले दाजुभाईको सुस्वास्थ्य, दीर्घायुको कामना गरेर सम्झिन्छन पाठकको भनाई छ ।

Next Post

मैनबत्तीबाट आगलागी हुँदा दैलेखमा बालकको मृत्यु

१२ कार्तिक २०७६, मंगलवार १६:०७
सदरलाइनडटकम, दैलेख : दैलेखको नौमूले गाउँपालिका–६, गोगनपानीका प्रेमबहादुर थापामगरको घरमा बालिएको मैनबत्तीबाट आगलागी हुँदा चार वर्षीय बालक ईश्वर थापाको ज्यान गएको छ । कोठामा बालिएको मैनबत्तीबाट सल्किएको आगलागीमा ज्यान गुमाउने ईश्वर नौमूले गाउँपालिका–१, तोलीका गणेश थापामगरको छोरा हुन् । आमाबुवासँग मामाघर गएका बेला आगलागी भएपछि बालकको ज्यान गएको हो । […]