सदरलाइनडटकम,
काठमाण्डौ : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । महराले आफू माथि लागेको दोषको छानविन प्रक्रिया नसकिएसम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठकले सभामुख महराले राजीनामा दिनुपर्ने निर्णय गरेलगत्तै उनको राजीनामा आएको हो ।
महराले राजीनामा पत्रमा आफ्नो चरित्रमा गम्भीर आरोप लागेका कुराको सत्यतथ्य छानविन नहुञ्जेलसम्मका लागि पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महराले दिएको राजीनामा सभामुख या प्रतिनिधिसभा सदस्यबाट समेत हो भन्ने खुलाइएको छैन । सत्तारुढ नेकपाले भने उनले सभामुख र प्रतिनिधिसभा सदस्य दुवै पदबाट राजीनमा दिनुपर्ने निर्णय लिएको थियो । महरामाथि संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएकी थिइन् ।
यौन दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएपछि महराले पदबाट राजीनामा दिएका हुन् । मंगलवारै बालुवाटारमा भएको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा पनि महरालाई पदबाट राजीनामा गर्न लगाउने निचोड निकालिएको थियो ।