गाईगोरु मृत्यु प्रकरणको प्रतिवेदन बुझाइयो

१४ आश्विन २०७६, मंगलवार १६:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जबाट दैलेखको श्रीस्थान लैजाने क्रममा सुर्खेतको कटकुवालगायतका स्थानमा केही गाई मृत र घाइते भेटिएको घटनाको छानबीनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले गठन गरेको समितिले उपमहानगरलाई आफ्नो प्रतिवेदन बुझाएको छ । वडा नं. २१ स्थित बिर्तामा रहेको निर्माणाधीन कान्जीहाउसबाट गत भदौ १२ गते २९१ वटा गाईगोरुलाई ८ वटा ट्रकमा राखेर लैजाने क्रममा भएको घटनाको प्रतिवेदन तयार गरी छानबीन समितिले सोमवार बेलुका नेपालगञ्ज उपमहानगरपालिकालाई बुझाएको हो ।
समितिका अध्यक्ष अधिवक्ता विकास आचार्यले उक्त प्रतिवेदन हस्तान्तरण गरेका थिए । सो सम्बन्धमा समितिले गरेको स्थलगत निरीक्षण, अनुगमन तथा सरोकारवाला निकाय र व्यक्तिहरुबाट संकलित तथ्य र विवरणका आधारमा तयार गरेको २८७ पृष्ठ लामो प्रतिवेदनमा घटनाको निष्कर्ष, कान्जीहाउसमा र नगरमा छाडा अवस्थामा रहेका गाईगोरुको उचित व्यवस्थापनका लागि सुझावसमेत उल्लेख गरिएको छ ।
प्रतिवेदन बुझ्दै मेयर डा. धवल शम्शेर राणाले राम्रो नियत र मनसायले गरेको काममा कहिले काँही सोंच्दै नसोंचेको भएको घटनाले पाठ सिकाएको भन्दै प्रतिवेदनमा निर्दिष्ट गरिएका तथ्यहरुलाई मनन् गरी प्राप्त सुझावहरुको कार्यान्वयनका लागि प्रतिवद्धता जनाए । छानविन समितिलाई धन्यवाद दिंदै उनले छाडा चौपायको व्यवस्थापन र कान्जीहाउसमा रहेका गाईगोरुको उचित व्यवस्थापनको उपमहानगरपालिका एकदमै गम्भीर रहेको बताए ।
समितिका प्रवक्ता एवं अधिवक्ता वसन्त गौतमले सञ्चालन गरेको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा समितिका सदस्य पत्रकार पूर्णलाल चुकेले जनावरहरुका लागि नेपालको संविधानले पर्याप्त कानूनी व्यवस्था गरेकोले स्थानीय निकायहरु गाईगोरुको उचित व्यवस्थापनका लागि एकदमै सचेत र गम्भीर हुनुपर्ने विचार व्यक्त गरे ।

Next Post

चाडपर्वसँगै स्वदेश फर्किंदै नेपाली

१४ आश्विन २०७६, मंगलवार १६:५२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालीहरुको महान चाड दशैं नजिकिएसँगै रोजगारीका लागि भारत गएकाहरु फर्किन थालेका छन् । नेपालगञ्ज नाका भएर दैनिक हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेका छन् । बिहानैबाट नेपालीहरु भित्रिन शुरु हुने गरेको इलाका प्रहरी कार्यालय जुमनहाका इञ्चार्ज प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए । भारतबाट फर्किने नेपालीको सहयोगका […]