बजार अनुगमनमा पाँच लाखको अखाद्य भेटियो

११ आश्विन २०७६, शनिबार १४:२४
 

सदरलाइनडटकम,
डोटी : चाडपर्वमा अखाद्य वस्तु बिक्री, वितरण रोक्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा शनिवार बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले दिपायलको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा छड्के अनुगमन गरेको हो ।
अनुगमनका क्रममा पिपल्ला बजारमा रहेको दिल्पेश्वर जनरल स्टोरमा मात्रै झण्डै पाँच लाख रुपैयाँ बराबरको म्याद नाघेका अखाद्य वस्तु फेला परेको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो । दिपायलको पिपल्ला बजारमा अखाद्य वस्तु बिक्री, वितरण भएको गुनासो आउन थालेपछि टोलीले बजारमा छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।
बजार अनुगमनका क्रममा टोलीले लाखौँ मूल्य बराबरका बिस्कुट, चाउचाउ, दालमोठ, विभिन्न मसला आइटम, जुस, चक्लेट, गुल्कोज, हर्लिक्ससलागयतका वस्तु अखाद्य भेटिएको अनुगमन समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले बताउनुभयो । त्यस्तै केही अखाद्य वस्तुहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाइने र त्यसैका आधारमा अन्य कारबाही गरिने अनुगमन समितिका संयोजक दिपायल सिलगढी नगरपालिकाका उमयेयर शिवराज खड्काले बताउनुभयो ।
यस्तै गत जेठमा पनि दिपायलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले अनुगमन गरी ठूलो परिमाणमा अखाद्य वस्तु फेला पारेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख नारायण रावतले अखाद्य वस्तु बेच्ने अधिकार कसैलाई नभएको र उपभोक्ताले पनि सामान किन्दा वस्तु उत्पादन भएको मिति र समाप्ति मिति हेर्न सुझाव दिनुभयो । डोटीका ठूला व्यापरीहरुले गाउँघरमा म्याद सकिएको अखाद्य वस्तु बिक्री, वितरणका लागि पठाउने गरेको स्थानीयको आरोप छ ।

Next Post

क्यानमा चन्दको प्यानल विजयी

११ आश्विन २०७६, शनिबार १४:२४
सदरलाइनडटकम, काठमाण्डौ : नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । क्यानको विशेष साधारणसभाअन्तर्गत शनिवार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी विनयराज पाण्डेलाई पराजित गर्दै उनी अध्यक्षमा चयन भएका हुन् । चन्दले ४४ मत ल्याएका छन् भने पाण्डेले १५ मत ल्याएका हुन् । उपाध्यक्षमा राजुबाबु श्रेष्ठ विजयी भएका छन् […]