सदरलाइनडटकम,
काठमाण्डौ : प्रकाश दाहाल स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनलमा चीर प्रतिद्वन्द्वी त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै प्रहरीले उपाधि उचालेको हो ।
चार दिन अगाडि हुने भनिएको फाइनल वर्षाका कारण शनिवारका लागि सारिएको थियो । आर्मीका मुख्य खेलाडी मानबहादुर श्रेष्ठ नभएको खेलमा आर्मीविरुद्ध पुलिसले पहिलो सेट २५–२२ ले जित्यो । दोस्रो सेटमा पनि पुलिसले आर्मीविरुद्ध फेरि २५–२२ ले आफ्नो पक्षमा पार्यो । खेलमा खासै तालमेल मिलाउन नसकेको आर्मी्विरुद्ध पुलिस तेस्रो सेटमा एक समय २०–१९ को अवस्थामा थियो ।
दर्शकले खचाखच भएको फाइनलमा पुलिसले लगातार दुई अंक बटुल्दै २२–२० को अवस्थामा पुर्यायो । तेस्रो सेटको अन्तिममा पुलिसले २५–२२ ले जित्यो । उपाधिसँगै पुलिसले ५ लाख रुपैयाँ जितेको छ भने उपविजेता नेपाल आर्मीले ३ लाख रुपैयाँ जितेको छ ।
