शमशानघाटबाट फर्काइएका शिशुको मृत्यु

२८ भाद्र २०७६, शनिबार १७:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित बुलबुलियास्थित शमशानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको मृत्यु भएको छ । भेरी अस्पतालको प्रसूति कक्षमा खटिएका कर्मचारीको चरम लापरबाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई शमशानघाट पुर्याएपछि जीवित देखिदाँ शुक्रवार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।
करीव ६ सय ग्राम तौल रहेको महिना नपुगेको शिशु (छोरी)को अस्पतालको एनआईसियु कक्षमा उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको हो । शिशुको मृत्यु भएपछि परिवार र आफन्तले शनिवार अस्पतालमा आन्दोलन गरेका छन् । शुक्रवार बिहान प्रसूति कक्षमा खटिएका नर्सले जीवितै रहेको नवजात शिशुको मृत्यु भइसकेको घोषणा गरेका थिए । जाजरकोट, छेरागाड नगरपालिका–९ कमला अधिकारीले शुक्रबार बिहान शिशु जन्माएकी थिइन् ।
जन्मिएको केही घण्टापछि प्रसूति कक्षकी ड्युटी इन्चार्ज बसुन्धरा ज्ञवालीले शिशुको मृत्यु भइसकेको भन्दै अभिभावकलाई बुझ्न लगाइन् । जबकी कुनैपनि बिरामीलाई मृत्यु भए नभएको घोषणा नर्सले गर्न पाउँदैनन् । मृत्यु घोषणा गर्ने अधिकार डाक्टरलाई मात्र हुन्छ । तर, ज्ञवालीले शिशु मरेको भनेर कमलाका पति मिलन अधिकारीलाई कागजातमा हस्ताक्षर गराएर शव लैजान भनिन् । मृत्यु भइसकेको शिशुलाई गाड्न अस्पतालका कर्मचारीले दुई हजार मागेपछि अधिकारीले रकम नदिने भन्दै बुलबुलियास्थित हिन्दु शमशानघाट लगेका थिए ।
मसानघाटमा शिशुलाई गाड्न भनी खाल्डो खनेर तयार पारियो । गाड्ने तयारी भइरहेका बेला शमशानघाटकी कर्मचारी कलावती नेपालीले शिशुलाई देखाउन भनिन् । कालो प्लास्टिकको झोलाबाट मिलनले शिशु निकालेर कलावतीलाई देखाए । कलावतीले शिशु जिउँदै रहेको भनेपछि मिलन रुँदै शिशुलाई लिएर फेरि भेरी अस्पताल पुगेका थिए । घटनापछि अस्पताल प्रशासनले आफ्नो बचाउ गरिरहेको छ । परिवार र आफन्तले भने अस्पतालमा लापरबाही गर्ने कर्मचारीलाई कानुनी कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् ।

Next Post

गुण्डागर्दी नरोकिए प्रतिकार गर्ने देउबाको चेतावनी

२८ भाद्र २०७६, शनिबार १७:४९
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाले बाँकेमा काँग्रेस नेता कार्यकर्ताहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म कांग्रेसको आन्दोलन नरोकिने चेतावनी दिएका छन् । नेपाली काँग्रेस बाँकेले शनिवार नेपालगञ्जमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले घटनाका दोषीहरुलाई कानुनी दायरामा नल्याए संसदमा हंगामा गर्ने चेतावनी दिए । सभापति देउवाले शान्तिपूर्ण […]