लोकसेवा आयोगको मुकाम ‘बुटवल’ तोकियो

२८ श्रावण २०७६, मंगलवार १६:५६
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश ५ को लोकसेवा आयोगको मुकाम बुटवलमा रहने भएको छ । प्रदेश मन्त्रिपरिषद मंगलवार बसेको बैठकले लोकसेवा आयोगको मुकाम बुटवललाई तोकेको हो । प्रदेश ५ को स्थायी राजधानी हालसम्म तोकिएको छैन ।
दाङ वा बुटवल रहने भन्ने अहिले पनि विवाद छ । तर प्रदेश सरकारले लोकसेवा आयोगको मुकाम अस्थायी राजधानी बुटवलमा राख्ने निर्णय गरेको हो । बैठकले सडक दुर्घटनामा परी मृत्यु भएका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको परिवारलाई प्रदेशसभा सचिवालयमार्फत बीमावापतको १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।


आयोगका अध्यक्ष भट्टराईद्वारा शपथ
प्रदेश सरकारले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र बाँके र दाङ तथा रोजगार सूचना केन्द्र बुटवलमा कार्यरत अस्थायी कर्मचारीहरुको सेवा अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
यसैबिच प्रदेश ५ को लोकसेवा आयोगका अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनीयताको सपथ लिएका छन् । मंगलवार आयोजित समारोहमा भट्टराईलाई उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलले सपथ गराएका हुन् । मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिश समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख झाले भट्टराईलाई साउन २३ गते लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।
योसँगै प्रदेश ५ मा प्रदेश कर्मचारी भर्नाका लागि प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । प्रदेश ५ सरकारका १ सय ४७ कार्यालयका लागि करिब ४ हजार कर्मचारी आवश्यक छ ।a

Next Post

पोखरास्थित फर्निचर उद्योगमा आगलागी

२८ श्रावण २०७६, मंगलवार १६:५६
सदरलाइनडटकम, कास्की : गण्डकी प्रदेशको राजधानी सहर पोखराको न्यूरोडस्थित नवदुर्गा फर्निचरमा आगलागी भएको छ । भाटभटेनी सुपर मार्केटनजिकै रहेको उक्त पसलमा मंगलवार अपरान्ह ४ बजेदेखि आगलागी भएको हो । आगलागीको कारण खुल्न सकेको छैन । दुईवटा दम्कलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।