सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको सल्यानीबागमा सञ्चालनमा आएको नमूना छात्रा विद्यालयमा विद्यार्थीलाई नियमित टिकाई राख्नका लागि अभिभावकलाई खाने तेल वितरण गर्ने कार्यक्रम शुरु गरिएको छ । मासिक ८५ प्रतिशतभन्दा बढि नियमित उपस्थित हुने विद्यार्थीलाई हाजिरीको आधारमा मासिक दुईदुई लिटर खाने तेल उपलब्ध गराउन थालिएको हो ।
मंगलवार पहिलो पटक ८५ जना विद्यार्थीका अभिभावकलाई खाने तेल वितरण गरिएको हो । यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको विद्यालयमा २३५ जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएकामध्ये अधिकाँश मुस्लिम र मधेशी समुदायका बालिकाहरु रहेको नेपालगञ्जकी उपमेयर उमा थापा मगरले जानकारी दिइन् ।
नेपालगञ्जका मेयर डा. धवलशम्शेर राणा, उपमेयर थापा, वडाध्यक्ष सफिक वेहनालगायतले संयुक्तरुपमा खाने तेल हस्तान्तरण गरे । उपमहानगरपालिकाले सञ्चालन गरेको विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा ८ सम्मको पढाई हुन्छ । मेयर राणाले छात्रा कलेज पनि छिट्टै सञ्चालन हुने जानकारी दिए ।