सदरलाइनडटकम,
सल्यान : सल्यानमा एक युवाले हावाबाट विजुली निकालेका छन् । जिल्लाको शारदा नगरपालिका ४ साँइलाकम्दका ३८ वर्षीय बुद्धिराज कवरले हावाबाट विजुली निकालेका हुन् ।
साहुटोलमा इलेक्ट्रोनिक पसल गर्दै आएका कवरले विगत लामो समयदेखि यसलाई परीक्षण गर्दै आइरहेका थिए ।
तेस्रोपटक प्रयास गर्दा हावाबाट बिजुली निकाल्न सफल भएको उनले बताए । उनले घरको आँगनमा फलामको लामो डन्डीमा पुराना सिडीको पंखा बनाएका छन् ।
हावाले ती पंखालाई चलाएपछि बत्ती बल्ने गरेको उनको भनाई छ । उनका अनुसार पंखाबाट आएको ऊर्जालाई ब्याट्रीमा जम्मा गर्न सकिन्छ ।
उनले हावाबाट निकालेको विद्युत आफ्नो घरमा विजुली बाल्दै आइरहेका छन् । अहिले यो पहिलो परीक्षण भएको र अब यही प्रविधिबाट ठूलो खालको ऊर्जा निकाल्न सकिने उनको भनाइ छ ।
धेरै हावा चल्ने ठाउँमा यसबाट विद्युुत निकाल्न सकिने उनले बताए । परीक्षणको रुपमा बनाएको बत्ती सामान्य आफ्नै खर्चमा बनाएको उनले बताए ।
उनले कक्षा ६ मा पढ्ने वेलामा पनि गोबरबाट रेडियो बज्ने बनाएका थिए । सल्यानको दुर्गम गाउँ निगालचुलामा हावाबाट विद्युत्त निकाल्ने योजना बनाएको उनले बताए । हावाबाट विजुलीको लागि निगालचुला उपयुक्त ठाउँ भएको उनको भनाइ छ ।