वीरेन्द्रनगरमा फोहोरबाट ग्यास उत्पादन

सदरलाइन संवाददाता १९ पुष २०८०, बिहीबार १५:२२
 

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा फोहोरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो ।

वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले केपी दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गरेका हुन् । नगरपालिकाभित्रको सबै फोहरलाई सङ्कलन गरी ग्यास र जैविक मल उत्पादनको लागि प्रयोग गर्ने गरिएको उनले जानकारी दिए ।

रु १४ करोड लगानीमा जर्मन प्रविधिमा ग्यास प्लान्ट स्थापना गरी ग्यास र जैविक मल उत्पादन सुरु गरिएको ढकालको भनाइ छ । सो रकममध्ये पाँच करोड विश्व बैंकको सहयोग छ । अहिले तरकारी पसलबाट निस्कने फोहर सङ्कलन गर्ने गरिएको जनाउँदै ढकालले अब प्रत्येक घरघरबाट निस्कने फोहर सङ्कलन गरी प्रयोग गरिने योजना रहेको जानकारी दिए ।

“हामीले नगरपालिकासँग सहयोगको लागि आग्रह गर्यांै, तर सहयोग पाएनौँ, अनि आफ्नै ट्र्याक्टर किनेर फोहर सङ्कलन गरेर ल्याइरहेका छौँ”, उनले भने, “अब प्रत्येक घरबाट निस्कने फोहर सङ्कलन गरी ग्यास र जैविक मल उत्पादन बढाउँदैछौँ ।”


ग्यास उद्योग प्लान्टबाट अहिले दैनिक सात सय २० क्विन्टल ग्यास र नौ टन जैविक मल उत्पादन भइरहेको छ । उत्पादित ग्यास खाना पकाउनेसहित सवारी साधन सञ्चालनको लागि पनि प्रयोग गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको खपतसमेत घट्ने सञ्चालक ढकालको भनाइ छ । गत जेठबाट हामीले ग्यास र जैविक मल उत्पादन सुरु भएको जनाइएको छ ।

उनले भने, “यो ग्यास उत्पादनले सरकारलाई सहयोग पुग्ने छ । पहिलो कुरा रासायनिक मलको प्रयोगलाई घटाउने र त्यसमा दिने अनुदान हामीले उत्पादन गर्ने जैविक मलमा दिनुपर्छ, जसले गर्दा एकातिर अर्गानिक उत्पादन पनि बढ्छ भने अर्कोतर्फ हामीले फोहरबाट ग्यास पनि उत्पादन गरिरहेका छौँ, यो ग्यासले खाना पकाउने मात्रै नभई सवारी साधन चलाउन पनि हुने भएकाले राज्यको वार्षिक रु १८ करोड रकम जोगिन्छ ।”

ग्यास प्लान्ट उद्योगले वातावरणलाई समेत सन्तुलन राख्ने उहाको भनाइ छ । ग्यास र जैविक मल उत्पादन गरिरहेको यो उद्योगमा अहिले १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उत्पादित ग्यास रु एक सय ४० किलो र मल रु २५ किलो बिक्री हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाइसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

१९ पुष २०८०, बिहीबार १५:२२
नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा हाइसको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ । हुलाकी सडकखण्डको राप्तीसोनारी–४ धामपुरमा दाङबाट नेपालगञ्ज आउँदै गरेको तीब्र गतिमा रहेको भे१ख ४१३६ नम्बरको हाइसको ठक्करबाट सोही वडाकै बैजापुरका ४५ वर्षीय मंगल थारुको मृत्यु भएको वडाध्यक्ष मीनराज खड्का (सन्तोष) ले जानकारी दिएका छन् । वडाध्यक्ष खड्काका […]

सम्बन्धित