सदरलाइनडटकम,
नेपालगञ्ज : तापक्रम बढेर तातो हावा अर्थात् ‘लु’ चल्न थालेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । ४३ डिग्री सेल्सियससम्म पुगेको तापक्रमका कारण बाँकेको जनजीवन प्रभावित भएको हो ।
अत्याधिक तापक्रमका कारण दिउँसो घरबाट बाहिर निस्कने अवस्था नरहेको नेपालगञ्जवासीको भनाई छ । असाह्य गर्मी तथा तातो हावाले गर्दा विशेष गरी ग्रामीण क्षेत्रका विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ । विद्युत आपूर्तिसमेत अनियमित हुँदा नेपालगञ्जलगायत आसपास क्षेत्रका नागरिकको जनजीवन थप कष्टकर बनेको छ ।
विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले सकेसम्म विद्युत आपूर्ति नियमित गर्ने प्रयास गरेपनि गर्मीको प्रभावले विद्युतीय उपकरण बिग्रिरहने कारणले थप समस्या निम्तिएको जनाएको छ । गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ । बजारमा चिसो पेय पदार्थको बिक्री एक्कासी बढेको छ ।
बाँकेका अस्पतालमा बिरामीको चाप बढ्दै
प्रचण्ड गर्मी र ‘लु’ले सरुवा रोगका बिरामीको चाप पनि बढ्दै गएको अस्पतालका चिकित्सक बताउँछन् । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरमा बिरामीको चाप बढ्दै गएको छ । ‘लु’बाट बच्न खानपानमा ध्यान दिनुका साथै पानीलाई उमालेर वा फिल्टर गरेर मात्र खान चिकित्सकहरुले सुझाव दिएका छन् ।
दैनिक प्रयोग गर्ने भाँडाकुँडाहरु सफा राख्ने, खाना खानुभन्दा अघि र पछि हात राम्रोसँग साबुन पानीले माडेर धुनुका साथै अत्यावश्यकीय कामबाहेर दिउँसोको समयमा बाहिर ननिस्कन चिकित्सकहरुले सुझाएका छन् ।