‘फणी’ तुफान ओडिशाबाट पश्चिम बंगाल सर्दै

२१ बैशाख २०७६, शनिबार १५:१६
 

सदरलाइनडटकम,
काठमाण्डौ : चक्रवाती तुफान ‘फणी’ अत्याधिक तीव्रता भएको आँधीको रुप लिएको छ । अहिले यो तुफान भारतको ओडिशा राज्यबाट पश्चिम बंगाल हुँदै बंगलादेशतर्फ लागिरहेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार यसले अहिलेसम्म ८ जनाको ज्यान लिएको छ भने ठूलो परिमाणमा धनमाल नष्ट भएको छ ।
आँधी आउनुअघि नै सरकारले झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको बताएको थियो । त्यसैले पनि दुई दशक यताकै शक्तिशाली आँधी आउँदा कम मानवीय क्षति भएको छ । ओडिशाका तटीय क्षेत्रमा राष्ट्रिय आपत्कालीन प्रतिक्रिया बल(एनडीआरएफ), स्थल सेना तथा वायु सेनालाई उद्धार तथा राहतका लागि खटाइएको छ ।
यसभन्दा पहिले ओडिशा तथा आन्ध्र प्रदेशमा आएको चक्रवाती तुफान ‘तितली’ ले कहर मच्चाएको थियो । भारी वर्षा र भूस्खलनका कारण त्यहाँको जनजीवन प्रभावित भएको थियो । एक महिनाअघि मात्रै ‘डे’ नामक आँधी आएको थियो । यसभन्दा पहिले २०१३ मा ‘फाइलिन’ नामक आँधीले ओडिशा तथा आन्ध्र प्रदेशमा भौतिक क्षति पुर्याएको थियो ।


यस्ता आँधीको नाम कसरी र कसले राख्दछ त ?
बीबीसीका अनुसार सन् १९५३ मा अमेरिकाको मायामीमा रहेको नेसनल हरिकेन सेन्टर तथा वर्ल्ड मेटिरियोलोजिकल अर्गनाइजेसन(डब्ल्यूएमओ)को अगुवाइमा एउटा प्यानलले आँधी र उष्णकटिबन्धीय चक्रवातको नाम राख्दै आएको छ । डब्ल्यूएमओ संयुक्त राष्ट्रसंघअन्तर्गतको एजेन्सी हो । तर पहिले उत्तरी हिन्द महासागरमा आउने चक्रवातको नाम राखिँदैनथ्यो । यसको कारण थियो, यस क्षेत्रको सांस्कृतिक विविधता ।
पश्चिममा जस्तै नाम राखिए त्यहाँका मानिसको भावनामा ठेस पुग्ने सम्भावना निकै थियो । आँधीको नाम राख्दा निकै नै सावधानी अपनाउनु पर्ने थियो । कुनै पनि समुदायको सांस्कृतिक भावना तथा विश्वासमा ठेस र्पुयाउन हुन्थेन । सन् २००४ मा डब्ल्यूएमओको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय प्यानल भङ्ग गरियो । त्यसपछि सम्बन्धित देशले आ–आफ्नो क्षेत्रमा आउने चक्रवातको नाम आफै राख्न थाले । यसै वर्ष हिन्द महासागर क्षेत्रका आठ देशले भारतको पहलमा चक्रवाती तुफानका नाम राख्ने व्यवस्था सुरु गरे ।
भारतका अलावा यसमा बंगलादेश, पाकिस्तान, म्यानमार, मालदिभ्स, श्रीलंका,ओमान तथा थाइल्याण्ड रहेका छन् । यी देशहरुले ६४ वटा नामको सूची बनाएका छन् । हरेक देशको भागमा आठ नाम रहेका छन् । हरेक वर्ष सबै देशका चक्रवात विशेषज्ञ भेला हुने गर्छन् । आवश्यकताअनुसार सूचीमा नाम थप्न पनि सकिन्छ । सदस्य देशका नागरिकले पनि नाम सिफारिस गर्न सक्छन् । यस विषयमा भारत सरकारले विभिन्न शर्तमा नागरिकसँग सल्लाह माग्छ । नाम सिफारिस गर्दा सकेसम्म छोटो, सबैले बुझ्न सकिने खालको, सांस्कृतिक रुपमा संवेदनशील तथा भड्किलो नभएको हुनु पर्छ ।
पछिल्लो समय आएको तुफानको नाम ‘फणी’ राखिएको छ । यो नाम बंगलादेशले राखेको हो । ‘फणी’ अर्थ साँप हुन्छ । फणा फिँजाएको सर्पझैँ तुफान फैलिने भएकाले फणी राखिएको हो । यति धेरै सावधानीका बाबजुद पनि कहिलेकाहीँ विवाद उत्पन्न हुन्छ । सन् २०१३ मा ‘महासेन’ तुफानलाई लिएर विवाद उत्पन्न भएको थियो । श्रीलंकाले राखेको यस नाममा त्यहाँकै केही समुदायले आपत्ति जनाएका थिए ।
श्रीलंकामा राजा महासेनले शान्ति र समृद्धि ल्याएको मानिन्छ । त्यसैले प्राकृतिक विपत्तिको नाम उनको नामबाट राख्दा धेरैले आपत्ति जनाए । पछि त्यसको नाम परिवर्तन गरी ‘वियारु’ राखिएको थियो । यसरी आठ देशले पालैपालो हिन्द महासागरमा आउने समुद्री तुफानको नाम राख्ने गर्छन् ।
बंगलादेशको ‘फणी’पछि अब भारतले नाम राख्छ । अब आउने आँधीको नाम ‘वायु’ हुनेछ । आठ देशका आठ–आठ नाम गरी राखिएका ६४ नाम सकिए पनि पछि तीनै नाम दोहोरिनेछन् । तर ठूलो क्षति पुर्याएको आँधीको नाम भने पुनः प्रयोग गरिने छैन ।
(एजेन्सी)

Next Post

ड्युटीमा खटिएका प्रहरी हबल्दारको हुम्लामा मृत्यु

२१ बैशाख २०७६, शनिबार १५:१६
सदरलाइनडटकम, हुम्ला : जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत एक प्रहरीको हृदयाघातका कारण शनिवार बिहान मृत्यु भएको छ । दैलेख जिल्ला नारायण नगरिपालिका १ निवासी ३२ वर्षीय प्रहरी हवल्दार चन्द्रबहादुर खड्काको मृत्यु भएको हो । प्रहरी हवल्दार खड्का बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालयमै ड्युटीमा खटिएको समयमा एक्कासी बिरामी भएपछि […]

सम्बन्धित