बाँकेका मन्टेश्वरी स्कुलको अनुगमन

२९ चैत्र २०७५, शुक्रबार १८:४९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मन्टेश्वरीहरुको छाता संगठन मन्टेश्वरी एशोसिएसन बाँकेले जिल्लाभरिका मन्टेश्वरीहरुको अनुगमन गरेको छ । नयाँ शैक्षिक सत्र शुरु हुन लाग्दा पहिलो पटक एशोसिएशनले जिल्लाभरिका मन्टेश्वरीहरुको अनुगमन गरेको हो । अनुगमनका क्रममा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र वैजनाथ गाँउपालिकामा सञ्चालित ८ ओटा मन्टेश्वरीहरुको अनुगमन गरेको छ ।
मन्टेश्वरी शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले गरिएको अनुगमनका क्रममा मन्टेश्वरी विधि अनुसार सञ्चालन भए नभएको अनुगमन गरिएको एशोसिएशनका अध्यक्ष लुना बुढाथोकीे बताए । पहिलो चरणमा एशोसिएसनमा आवद्ध मन्टेश्वरीहरुको मात्र अनुगमन गरी उनीहरुको अवस्थाबारे जानकारी लिइएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । अनुगमनको क्रममा मन्टेश्वरी विधि अनुसार सबै प्रक्रिया पूरा नगरेका मन्टेश्वरीहरुलाई एक महिना भित्र ती विधि अनुसारका सबै प्रक्रियाहरु पूरा गर्न सचेत गराइएको उनले बताए ।



मन्टेश्वरी एशोसिएसनका अध्यक्ष लुना बुढाथोकीको नेतृत्वमा गएको उक्त अनुगमनमा कोषाध्यक्ष खिमा थापा, सह कोषाध्यक्ष सीता पौडेल र सदस्य सन्ध्या मल्लको सहभागिता रहेको थियो ।
मन्टेश्वरी एशोसिएशनका अध्यक्षसमेत रहेकी प्रिन्सिपल लुना बुढाथोकीले इटालीमा जन्मेकी स्वर्गीय डा. मारिया मन्टेश्वरीद्वारा प्रतिपादित व्यावहारिक तथा वस्तुगत शिक्षा विधिको अवधारणा अनुरुप शुरु परिएको मन्टेश्वरी विश्वव्यापीरुपमा लोकप्रिय हुँदै गएको र बाँकेमा २०६६ सालदेखि मात्र शुरु भएको जानकारी दिए । उनले विद्यालय र अभिभावकहरुले विद्यार्थीहरुलाई किताबी सैद्धान्तिक शिक्षा र ज्ञान मात्र होइन उनीहरुको मानसिक र वौद्धिक विकासका लागि वस्तुगत र व्यवहारिक ज्ञान तथा शिक्षा प्रदान गर्ने वातावरण दिन आवश्यक भएको बताए ।

Next Post

नेपालगञ्जका किशोरीलाई आत्मनिर्भर बनाईंदै

२९ चैत्र २०७५, शुक्रबार १८:४९
सदरलाइनडटकम, नेपालगञ्ज : किशोरीहरुलाई आत्मनिर्भर बनाउन शुक्रवारबाट नेपालगञ्जमा तीन महिने सिलाई कटाई तालिम शुरु भएको छ । बिपन्न तथा पछाडी परेको समुदायका किशोरीलाई सक्षम बनाउन सिलाई कटाई तालिम सञ्चालन गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले तालिमको उद्घाटन गर्दै प्रत्येक घरका एक जनाले सीप सिक्नुपर्ने बताए । […]