आठौं राष्ट्रिय खेलकुद सफल पार्न सचिव बिष्टको आव्हान

१७ चैत्र २०७५, आईतवार १७:४८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सबैलाई लाग्न आव्हान गरेका छन् । राष्ट्रिय खेलकुद परिषद प्रचार प्रसार उपसमितिले आइतवार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सदस्य सचिव बिष्टले आठौं खेलकुद यस क्षेत्रमा भएकोले सबै मिलेर सफल बनाउनुपर्ने बताए । प्रदेश पाँचको विभिन्न जिल्लामा आयोजना हुने प्रतियोगिता बैशाख ५ देखि ११ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको उद्घाटन ५ गते र समापन ११ गते नेपालगञ्ज रंगशालामा हुने भएपनि प्रतियोगितामा समावेश कतिपय खेलहरु भने यही चैत्र २७ गतेदेखि शुरु हुने पत्रकार सम्मेलनमा जनाइएको छ । प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय टिम त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र एक एनआरएनए टिमका खेलाडीले प्रतिस्पर्धा गर्ने सदस्य सचिव बिष्टले जानकारी दिए । प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबल टेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् ।
त्यस्तै दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेट तथा रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ ।
प्रदेश नं. ५ मा प्रतियोगिता आयोजना हुने भएपनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको राखेपले जनाएको छ । पत्रकार सम्मेलनमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश पाँच नेपालगञ्जका अध्यक्ष भीम वली लगायतको उपस्थिति रहेको थियो । दुईदुई वर्षको अन्तरालमा गर्ने गरी २०३८ सालदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु भएको हो ।

Next Post

युवामहिलालाई झोला बनाउने तालिम

१७ चैत्र २०७५, आईतवार १७:४८
सदरलाइनडटकम, बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वार्ड नं. ६ जयनगरमा १५ देखि २४ बर्ष उमेर समुहका १६ जना युवा महिलाका लागि ३० दिने झोला बनाउने तालिम सञ्चालन गरिएको छ । युवामहिलालाई सिपमुलक तालिम प्रदान गरि व्यावसायसमेत शुरुवात गर्दै उनिहरुलाई आत्मनिर्भर तथा स्वारोजगार बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो । […]