सदरलाइनडटकम,
नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बहुप्रतिक्षित भिआइपि प्याराफिट जडानको काम मंगलवारबाट शुरु भएको छ । सोमवार बेलुका नेपालगञ्ज रङ्गशालामा आइपुगेको उक्त प्याराफिट एकहप्ता भित्र निर्माण सम्पन्न गर्ने गरी जडानको काम भइरहेको छ ।
चाइनाबाट सिंगापुर, मलेशिया, भारत हुँदै नेपालगञ्ज रंगशाला आइपुगेको भिआइपि प्याराफिट जडानको काम चाइनिज इन्जिनियरले गरिरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए । डिजाइन अनुसार, चाइनिज इन्जिनियरले भिआइपी प्याराफिट जडानको काम गरिरहेको बताउँदै उनले छिटो काम सक्न रातदिन काम गर्ने बताए ।
रंगशालामै खटिएका सदस्य सचिव विष्टले भिआइपी प्याराफिट निर्माणमा चाहिने आवश्यक जनशक्ति र सामग्री इन्जिनियरलाई उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिएका छन् । राखेपका सदस्य सचिव केशवकुमार विष्टले एक हप्ताभित्र जडान सक्ने चाइनिज इन्जिनियरले बचन दिएको बताए । केही दिन रुपईडिहा भन्सारमा रोकिएको भिआइपी प्याराफिटको सामान लिएर आएका आधा दर्जन गाडी सोमवार राती नेपालगञ्ज रंगशाला प्रवेश गरेका थिए ।
आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन हुने नेपालगञ्ज रंगशालामा भिआइपी प्याराफिट निर्माण ढिलाईले आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोक्न ढिलाई भएको छ । दुई वर्षमै राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सदस्य सचिव विष्टसँगै प्रदेश नं. ५ का खेलप्रेमीहरु चैत्र महिनामै आठौँको उद्घाटन गर्ने तयारीमा छन् । चैत्रको अन्तिममा भएपनि आठाँैको उद्घाटन गर्ने राखेपको योजना छ ।
चैत्र २७ गते राष्ट्रपतिबाट औपचारिकरुपमा उद्घाटन हुने आठौँको टिम गेम २२ गतेदेखि गर्ने राखेपको तयारी छ । अहिले सवा अर्ब बढीको पूर्वाधार बनेको छ । आठांैले नेपालगञ्जलाई पूर्वाधारयुक्त शहर बनाइदिएकोमा नेपालगञ्जबासी खुशी भएका छन् ।