पूर्व एसपी विष्ट धरौटीमा रिहा

१० चैत्र २०७५, आईतवार १५:१६
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट धरौटीमा रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतले आइतवार पूर्व प्रहरी उपरीक्षक विष्टलाई दश लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले एसपी विष्टलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए । उनका अनुसार विष्टलाई यातनाविरुद्धको कसुरमा ६ लाख र सार्वजनिक न्यायविरुद्धको कसूरमा ४ लाख ५० हजार धरौटी सुनाइएको छ ।
विष्ट गत मंगलवार निवेदनसहित जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका थिए । उनको गत शुक्रबार अदालतमा बयानपछि बहस सकिएको थियो । पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसूर र दिलिपसिंंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसूरमा गत पुष ३ गते उजुरी दिएका थिए ।
यसअघि, मुद्दाका अन्य प्रहरी कर्मचारीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी, रामसिंंह धामी र प्रहरी जवान चाँदनी साउद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् । यसैबीच, विष्टसँगै प्रहरीको फरारको सूचीमा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का डीएसपी अंगुर जिसी भने उपस्थित नभएको अदालतले जनाएको छ ।

Next Post

मालीमा बन्दुकधारीको आक्रमणबाट सयभन्दा बढीको मृत्यु

१० चैत्र २०७५, आईतवार १५:१६
सदरलाइनडटकम, काठमाण्डौ : अफ्रिकी मुलुक मालीमा बन्दुकधारीको आक्रमणमा एक सयभन्दा बढीको मृत्यु भएको छ । मालीको मध्य क्षेत्रको ग्रामीण इलाकामा परम्परागत डोगोन शिकारीको पोशाकमा रहेका सशस्त्र आक्रमणकारीले गाउँलेमाथि अन्धाधुन्ध गोली चलाएको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बन्दुकधारीले गाउँलाई घेराबन्दी गरेर मालीको मोप्ती क्षेत्रमा रहेको ओगोस्सागोउ गाउँका बासिन्दाको हत्या गरेको स्थानीय […]