सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले आफ्नो तलव एक सिकिस्त विरामीलाई प्रदान गरेका छन् । मेयर राणाले वडा नं. ७ निवासी पुनम नेपालीलाई उपचारार्थ एक महिनाको तलवभत्ता बरावरको ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
उनले वादी समुदायमा कार्यरत संस्था कमीट नेपाललाई सोमवार एक समारोहबीच चेक हस्तान्तरण गरे । प्लाष्टिक एनिमीयाका कारण पुनमको दुई महिनादेखि बोन म्यारोमा समस्या देखिएको छ । उपचारमार्फत पूर्ण निको हुन करीव १० लाख खर्च लाग्ने चिकित्सकले बताएको पुनमका श्रीमान् सुरेश नेपालीले जानकारी दिए ।
संस्थाका अध्यक्ष प्रकाश वादीलाई चेक हस्तान्तरण गर्दै मेयर राणाले आफ्नो तलव मानवीय सेवामा लगाएर जनप्रतिनिधीप्रतिको गलत धारणा परिवर्तनका साथै समाजमा सकरात्मक सन्देश जाओस् भन्ने उद्देश्य रहेको बताए । उनले पुनमको उपचारमा सहयोग गर्न सबैमा अपील समेत गरे ।
मेयर राणाले हरेक महिनाको तलव मानवीय उत्थानका लागि सहयोग गर्दै आएका छन् । अध्यक्ष वादीले प्रदानित सो सहयोग बैंकमार्फत झिकेर विरामीको उपचारका लागि दिइने जानकारी दिए ।