सदरलाइनडटकम,
सप्तरी : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा गाँजा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ । भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको सशस्त्र प्रहरी र तस्करहरूबीच गएराति गोबरगाडामा झडप भएको हो ।
प्रहरी टोलीलाई देखेर तस्करले दुई राउण्ड गोली चलाएपछि प्रहरीले पनि एक राउण्ड हवाई फायर गरेर तीन जना गाँजा तस्करलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल सप्तरीका एसपी खेमबहादुर थापाले बताए । तस्करसहित करीब ४० केजी गाँजा नियन्त्रणमा लिएको थापाले जनाए ।
भारत निकासी हुँदै गरेको गाँजासहित भारतको सुपौल घर भएका ६५ वर्षीय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर राय पक्राउ परेका हुन् । घटनामा संलग्न अन्य व्यक्ति फरार रहेका छन् । नियन्त्रणमा लिइएको गाँजा र तस्करलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
