नेपालगन्जलाई आधुनिक शहरमा बदल्ने बामगठबन्धनका उम्मेदवारको अठोट

१५ मंसिर २०७४, शुक्रबार १८:०६
 

सदरलाइनडटकम
१५ मंसिर, नेपालगन्ज : निर्वाचनको तिथि नजिकिदै गर्दा मतदातालाई आफ्नो पक्षमा पार्नको लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई भ्याई नभ्याई रहेको छ । यसक्रममा वाम गठबन्धनबाट बाँके क्षेत्र नं. २ का उम्मेद्वार पशुपतिदयाल मिश्र र क्षेत्र नं. २ ‘ख’का उम्मेद्वार विजयकुमार गुप्ताले नेपालगन्जलाई अत्याधुनिक शहरका रुपमा विकसित गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालगन्ज वडा नं. ४ बसपार्कमा भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार मिश्रले नेपालगन्जमा निर्माणाधिन बसपार्कलाई अझै स्तरोन्नती गरी आधुनिक बसपार्क बनाइने बताए । ‘अब नेपालगन्ज बदलिन्छ,’ उम्मेद्वार मिश्रले भने, ‘ऐतिहासिक शहर साँस्कृतिक पर्यटनको रुपमा विकास हुन्छ ।’
उनले नेपालगन्जमा मिश्रित संस्कति रहेकोले यसलाई साँस्कृतिक शहरका रुपमा विकास गरिने पनि बताए । उम्मेद्वार मिश्रले नेपालगन्जमा सार्वजनीक शौचालय, खानेपानी लगायतका साना योजनाहरुलाई प्राथमिकीकरण गरी समस्याको समाधान गरिने बताए । ‘हामीले चुनाव जित्छौँ, यसमा शंका नगर्नुस्, आफ्नो मतलाई सही ठाउँमा प्रयोग गर्नुस्,’ उनले भने, ‘खेर जाने ठाउँमा मतदान गरेर नेपालगन्जको विकासलाई पछि नपार्नुस् ।’
बाँके निर्वाचन क्षेत्र नं. २ ख का उम्मेद्वार विजयकुमार गुप्ताले केन्द्र र प्रदेशमा वामपन्थीको सरकार बन्ने निश्चित भएको बताए । ‘नेपालगन्जमा स–साना पूर्वाधारका योजनाहरु पनि सञ्चालन गर्नु पर्नेछ । ठूला दिर्घकालिन योजनाहरुलाई पनि पुरा गर्नुछ । यसका लागि केन्द्र र प्रदेश सरकार समर्थितले जित्दा विकास निर्माणमा सहज हुन्छ,’ उनले भने, ‘हामीले जित्दा प्रदेश र केन्द्रसँगको समन्वयमा बजेट ल्याउँछौँ ।’
उम्मेद्वारहरुले शुक्रबार विभिन्न ठाउँमा आधा दर्जन बढी कोणसभा गरेका छन् । त्यसका साथै विशेष ठाउँमा घरदैलो र भेटघाट गरेका छन् । कोणसभा तथा चुनावी अभियानमा उम्मेद्वारसँगै क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीका संयोजक दामोदर आचार्य, सहसंयोजक निरक गुरुङ्ग, क्षेत्र नं. २ ‘ख’ निर्वाचन परिचालन कमिटीका संयोजक रविन्द्र लम्साल, सहसंयोजक आदेश अग्रवाल, एमालेका उपसचिव प्रमोद धिताल लगायत यातायात व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।   

 


 

Next Post

नेपालगन्जमा के भनेर मत मागिन रञ्जु दर्शनाले भिडियोसहित

१५ मंसिर २०७४, शुक्रबार १८:०६
सदरलाइनडटकम   १५ मंसिर, नेपालगन्ज : शुक्रबार बिबेकशील साझा पार्टीले बाँकेका दुई निर्वाचन क्षेत्रमा चुनावी सभा सम्पन्न गरेको छ । पार्टीका केन्द्रीय सदस्य तथा चर्चित युवा नेतृ रञ्जु दर्शनालाई प्रमुख बक्ता बनाएर क्षेत्र नम्वर २ को त्रिभुवनचोक र ३ को खजुरामा चुनावीसभाको आयोजना गरिएको हो । दुबै सभालाई सम्बोधन गर्दै पार्टीका […]