मुख्यमन्त्री पोख्रेलले देखाए हरियो झण्डा

१४ पुष २०७५, शनिबार १८:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : पाँच नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले नेपालगञ्ज–दिल्ली मैत्रीबस सेवालाई हरियो झण्डा देखाउदै शुभारम्भ गरेका छन् । भेरी यातायात सेवा प्रालिले सञ्चालनमा ल्याएको मैत्रीबस सेवाले नेपालगञ्ज प्रदेश नं. ५ को पर्यटन तथा व्यावसायिक क्षेत्रको मुख्य प्रवेशद्वार हुने कुरामा जोड दिए ।
उनले छिमेकी मुलुक भारतका धार्मिक तिर्थयात्रुहरुलाई मानसरोबरसम्मको यात्राको लागि सहज हुने कुरामा जोड दिदै भने–‘नेपालगञ्जबाट भारतको दिल्ली र नेपालगञ्जबाट काठमाण्डौको दुरी अव एक रात मात्रै रहने भयो । यसलाई अवसर र सेवाको भावले दिगो समयसम्म हुने गरी सञ्चालन गरिनु पर्छ ।’
मुख्यमन्त्री पोख्रेलले हिजोका दिनमा काठमाण्डौबाट तिब्बतको लासासम्म र काठमाण्डौबाट भारतका अन्य शहरमा मैत्री बस सेवा सञ्चालनमा आए पनि त्यसले निरन्तरता पाउन नसकेर त्यतिकै बन्द भएको बताउदै उनले यात्रुको सुविधा र सुरक्षाको विषयमा बस सञ्चालन गर्ने संस्थाले भारतमा तथा नेपालमा यात्रु ठगिनबाट जोगाउन विषेश पहल गर्दै चनाखो हुनु पर्ने कुरमा जोड दिए ।
उनले बस सेवाले मानसरोवर जाने यात्रुहरु दिल्लीबाट काठमाण्डौ हुदै नेपालगञ्ज आउने खर्चलाई जोगाई सोही रकममा मानसरोवरको तिर्थ गरेर फर्कन सक्ने बाताबरण भएको बताए । उनले नेपालगञ्जको विकासको लागि पनि यो सेवाले टेवा पुग्ने कुरामा दावी गर्दै नेपालगञ्जदेखि कर्णली राजमार्गको माध्यामबाट तिब्बत जोड्न सरकारको पहल भईरहेको बताउदै नेपालगञ्जदेखि भारतका विभिन्न शहरहरुमा हवाई मार्ग र रेलसंगको कनेक्टीभिटि गराउन पहल भईरहेको जानकारी दिए ।
सो अवसरमा नेपालमा रहेको भारतीय राजदूतावसका सह–सचिव निरजकुमार जैशवालले बस सेवाले भारतीय तिर्थ यात्रुलाई कम खर्चमा आरामदायि यात्राको लागि सहजता हुने विश्वास व्यक्त गरे । उनले भने–‘बससेवाले ठूलो संख्यामा भारतीय धार्मिक तिर्थयात्रु नेपाल प्रबेश गर्न सक्ने र दुई देशका नागरिकबीचमा भाईचाराका साथै भातृत्वको भावना विकास हुने हाम्रो विश्वास छ ।’
उनले भारतले दशगजा क्षेत्रमा निर्माण गरीरहेको बाँध जस्तो सडकले नेपालगञ्जमा पार्नसक्ने डुवानको बारेमा आफुले त्यसको बारेमा उच्च अधिकारीसंग परामर्श गर्ने बताउदै भारत सरकारले चाँडैनै ईन्ट्रिग्रेटेड चेक पोष्ट निर्माण गरी सञ्चालनमा ल्याउने जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शम्शेर राणाले नेपालगञ्जबाट दिल्ली हवाई यात्राको पनि सुरुवातको लागि नेपालको तर्फबाट गर्नु पर्ने तयारी पुरा भएपनि भारतले रुट परमिट तथा ईन्दिरा गान्धी अन्तराष्ट्रिय विभानस्थलमा ल्याण्डिङ्ग सहमति नदिएको कारण अड्किएको बताउदै भारतीय दूतावासबाट पहल गर्न आग्रह गरे ।
बस सेवा सञ्चालनले नेपालगञ्जको बागेश्वरी मन्दीर, स्वर्गद्वारी, रारा, मानसरोवर लगायतका गन्तब्यसम्म यात्राका लागि पनि यो बस सेवालाई सहयोग पुग्ने छ । भेरी यातायात प्रालि र उत्तर प्रदेश यातायात परिवाहन निगमका मैत्रीबस दिल्लीबाट आउने र जाने यात्रुलाई सहयोग पुग्ने छ । नेपालबाट भारतको दिल्ली दैनिक एउटा बस जाने र दिल्लीबाट नेपाल आउने व्यवस्था मिलाईएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए ।
यसैबीच नेपालगञ्जबाट बसका यात्रुलाई टिका र माला लगाई भारतीय दूताबासका सहसचिव जयसवालले बसमा चढाए भने मुख्यमन्त्री पोख्रेलले हरियो झण्डा देखाएर बस सञ्चालन गरेका थिए । सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपाल लोकतान्त्रिक व्यवसायी महासंघका महासचिव डेकनाथ गौतमले बस यात्राले दिल्ली र नेपालगञ्जको दुरी घटाएको बताए । भेरी यातायात प्रालिका अध्यक्ष गिरीले सुविधा सम्पन्न र सुरक्षाका दृष्टिकोणले भरपर्दो सुविधा प्रदान गरिने भन्दै अबका दिनमा ई टिककाट माध्यमबाट सर्बसाधारणलाई टिकट किन्ने व्यवस्था मिलाईने बताए ।

Next Post

नेपालगञ्जमा सडक सुरक्षा एवं सचेतना अभियान

१४ पुष २०७५, शनिबार १८:२७
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जमा ट्राफिक व्यवस्थापनको लागि आईतबार बिहान सचेतना मूलक प्रभातफेरीको आयोजना गरिएको छ । नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सडक सुरक्षा एवं सचेतना अभियान कार्यक्रमको आयोजना गरिएको हो । नेपालगञ्जको त्रीभुवनचोकबाट सुरु भएको सो कार्यक्रम सदरलाइन, न्यरोड, सेतुविक चोक हुँदै धम्बोझी चोकमा पुगेर समापन गरिएको थियो । […]