सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघले आगामी फागुनमा प्रादेशिक महोत्सव–२०७५को आयोजना गर्ने भएको छ । संघले गत वर्ष आयोजना गरेको महोत्सवको हरहिसाव पारदर्शिता नै नगरी पुनः अर्को महोत्सव गर्ने घोषणा गरेको हो ।
नेपालगञ्जको सडक विभाग परिसरमा बहुसुविधाको सभा हल निर्माण गर्ने उद्देश्यले संघले मेला आयोजना गर्दै आएको छ । तर, सभा हल निर्माणको क्षेत्रमा देखिने गरी कुनै पनि काम हुन सकेको छैन । ‘हरेक वर्ष बहुउद्देशिय सभाहलको नाममा मेला लगाउने र हरहिसाव सार्वजनिक नगर्ने बर्तमान कार्यसमितिमै मत बाझिदा बाझिदैले पुनः प्रदेशिक महोत्सवको तयारी गर्नु नेतृत्वको लाचारी हो’–नाम उल्लेख नगर्ने सर्तमा एक व्यावसायिले भने ।
संघका अध्यक्ष नन्दलाल बैष्यले शुक्रबार विहान संघमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी फागुनको १६ देखि २६ सम्म प्रादेशिक महोत्सव–२०७५बाँके आयोजना गर्ने जानकारी दिए । उनले भने–‘गत वर्षको हर हिसाव कार्य समितिले निर्णय गरी एकदुई पत्रकारलाई मात्र जानकारी दिएर सार्वजनिक गरेको हो । सबैलाई बोलाएर जानकारी दिन सकिएन । उनीहरुले हरहिसाव गरी न्यूज लिएर गएका हुन ।’
कार्यकालको अन्तिम केही महिना मात्र बाँकी रहँदा उनले हरेक वर्ष बहुउद्देश्यीय सभाहल निर्माण गर्ने भनेर मेलाको आयोजना गरीए पनि संघको कमाउने थलोको रुपमा परिचित होला भनेर उनले गत वर्षको आयव्ययलाई व्यापकतामा सार्वजनिक नगरेको कुरामा जोड दिदै भने–‘धेरै हल्ला गर्दा मेला आम्दानीको लागि मात्र हो भन्ने डरले व्यापकता नगरेको र यो कमाई खाने ठाँउको रुपमा मात्र लिन्छन भन्ने सन्देस बाहिर जाने भएकोले गरेनौ । गत वर्ष ५०–६० लाख बचाएका छौ ।’
उनले यो महोत्सवको पनि मुख्य उद्देश्य भनेको बहुउद्देश्यीय सभाहल निर्माण गर्ने नै भएको बताउदै काम नै केही नगरी पटक–पटक सभा हललाई कति भजाउनु भनेर त्यसलाई अलि पछाडि पारेर व्यावसायिक जमघट बढाउनको लागि महोत्सवको आयोजना गर्न लागेको बताए ।
नेपालगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले गत वर्ष संघले आयोजना गरेको प्रादेशिक महोत्सवको हर हिसाव अडिट गराईए पनि सार्वजनिक हुन नसकेको बताए । उनले भने–‘हामीले पटकपटक बैठकमा कुरा उठाएका हौ तर, हिसाव सार्वजनिक गर्ने विषयमा तर, सार्वजनिक हुन सकेन र भएको पनि छैन ।’ उनले गत वर्षको महोत्सव सुरु गर्नु अघि नै संघले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सव सकिएपछि आयव्यय सर्वाजनिक गर्ने प्रतिबद्धता जनाएको भए पनि हालसम्म संघले गतवर्षको हरहिसाव सर्वाजनिक गर्न नसकिएको बताए ।