सदरलाइनडटकम,
काठमाण्डौ : अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको समृद्धि, विकास, सुशासन र सामाजिक न्यायको पक्षमा कलम चलाउन सञ्चारकर्मीसँग आग्रह गरेका छन् ।
उनले मुलुकमा आर्थिक अनुशासन कायम राख्ने वातावरण बनाउन सञ्चारकर्मीहरुले पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिए । नेपाली सञ्चार क्षेत्र पछिल्लो समय जवाफदेही नदेखिएको भन्दै अर्थमन्त्री खतिवडाले असन्तुष्टि व्यक्त गरे ।
काठमाण्डौमा शुक्रवार आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को चौथो महासभालाई सम्बोधन गर्दै उनले सञ्चार क्षेत्रलाई जथाभावी कलम चलाउने छुट नरहेको बताए । स्वच्छ पत्रकारिता पत्रकारको धर्म भएको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले त्यसका लागि सरकार आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको जानकारी दिए ।
