सदरलाइनडटकम,
कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दासमेत न्याय नपाएको भन्दै निर्मलाको परिवारले जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चित्कालीन धर्ना शुरु गरेका छन् । घटना भएको एक सय ९ दिन बितिसक्दासमेत सरकारले दोषीलाई पत्ता नलगाएको भन्दै पीडित परिवारले आइतवारबाट प्रशासनको गेट अगाडी धर्ना शुरु गरेका हुन् ।
सरकारले अहिलेसम्म हत्यारा पत्ता नलगाएकाले आफूहरु फेरि आन्दोलनमा उत्रिनुपरेको निर्मलाका बुवा यज्ञराज पन्तले बताए । उनले छोरीको हत्या भएको ४ महिना पुग्दा पनि हत्यारा पत्ता नलागेकाले सरकारललाई दवाव दिन प्रशासनको गेट अगाडी धर्ना बस्नु परेको जानकारी दिए । धर्नामा बस्दा पनि राज्यबाट न्याय नपाए आफूहरु अनशन बस्न बाध्य हुने यज्ञराजले चेतावनी दिए ।
निर्मलाका आमाबुवा, परिवारका अन्य सदस्य र नागरिक संघर्ष समितिका सदस्यहरुसहित मदनचोकबाट निस्किएको र्याली जिल्ला प्रशासनको गेट अगाडी पुगेर धर्नामा परिणत भएको थियो ।
यसअघि कात्तिक १८ गते भिमदत्त नगरपालिका २ उल्टाखामस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै निर्मलाको परिवारले सरकारले तिहारसम्म अपराधी पत्ता नलगाए चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेका थिए ।