सदरलाइनडटकम,
धनगढी :सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा २ झ ३१२५ नम्बरको स्कारपियो जीप शुक्रवार राती कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
दुर्घटनामा जीप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भाञ्जी नाता पर्ने १० वर्षीया बालिका आयुष्मा शाही र से ३ प २४२० नम्बरको मोटरसाइकल चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाण्डौ लगिएको छ भने अन्य दुई जनाको अवस्था सामान्य छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको बडैपुर सडकखण्डमा से ३ प २४२० नं. को मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जीप एकापसमा ठोक्किएको थियो ।
