सोह्र वर्षमै विवाह गर्न पाउनुपर्ने भन्दै नेपालगञ्जमा प्रदर्शन

१४ श्रावण २०७६, मंगलवार १८:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : छोरीको बिवाह १६ वर्षमै गर्न पाउनुपर्ने माग गर्दै मंगलवार नेपालगञ्जमा चक्काजाम गरिएको छ । मधेशी समुदायका केही महिलाहरुले चक्काजामसहित नेपालगञ्ज उपमहानगरपालिका घेराउसमेत गरे । चक्काजाममा सहभागी अधिकांश विवाहित महिला हुन् ।
२० वर्षमा विवाह गर्नुपर्ने कानुन मधेशी समुदायको संस्कृतिसँग मेला नखाने भएका कारण कानुनमा परिवर्तन हुनुपर्ने माग सहित विरोध प्रदर्शन गरिएको महिलाहरुले जनाएका छन् । उनीहरुले आफूहरुको माग पूरा गराउनुपर्ने माग गर्दै चक्काजामसहित नेपालगञ्ज उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् । स्थानीय शान्ति यादवले मधेशी समुदायमा छोरीलाई २० वर्षसम्म घरमा राख्न समस्या हुने भएका कारण उमेरहद घटाएर १६ वर्ष हुनुपर्ने आफूहरुको माग रहेको बताइन् ।
२०७५ साल भदौ १ देखि लागू भएको मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको छ । २० वर्ष नपुगी विवाह गराए यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहितामा उल्लेख छ । संहिताको परिच्छेद –११ को विवाह सम्बन्धी कसूर अन्तर्गत दफा १७३ ले २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने व्यवस्था गरेको छ ।
अहिलेसम्म महिलाको १८ र पुरुषको २० वर्षलाई विवाह गर्ने न्यूनतम उमेर मानिँदै आएको थियो । तर यो संवैधानिक र लैंगिक समानताका आधारमा ठिक र बराबरी नभएकाले केटाकेटी दुवैको विवाह गर्ने उमेर अबदेखि २० वर्ष राखिएको हो । यदि २० वर्षअघि बिहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ ।

Next Post

हिरासतबाट भाग्ने बिक र कैद जरिवाना भएका थारु प्रहरी नियन्त्रणमा

१४ श्रावण २०७६, मंगलवार १८:२५
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके प्रहरीले गत असार ३ गते राती ईलाका प्रहरी कार्यालय धनौलीको हिरसत कक्षबाट फरार रहेको लागू औषध हिरोईन (ब्राउन सुगर) मुद्दाको अभियुक्तलाई पुनः नियन्त्रणमा लिएर आवश्यक अनुसंधान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको प्रेस विज्ञप्तीमा लागू औषध मुद्दामा फरार रहेका नेपालगन्ज–३ बस्ने […]