तिहारलगत्तै छठको तयारीमा जुटे मिथिलावासी

२३ कार्तिक २०७५, शुक्रबार १६:५६
 

सदरलाइनडटकम,
महोत्तरी : तिहार सकिएलगत्तै मिथिलावासी छठको तयारीमा जुटेका छन् । अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका हुन् ।
नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रूपमा छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र शख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त भएका हुन् ।
मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न संघसंस्था र युवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाउन थालेका छन् ।
चार दिनसम्म मनाइने शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवतरुपमा समापन हुने गर्दछ ।
छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु खान प्रतिबन्ध हुन्छ । मधेशी समुदायका बीच मात्र नभई छठ पर्व पहाडी समुदामा समेत लोकप्रिय बन्दै गएको छ ।

Next Post

गुल्मीमा जीप दुर्घटनाका घाइतेलाई काठमाण्डौ लगियो

२३ कार्तिक २०७५, शुक्रबार १६:५६
सदरलाइनडटकम, गुल्मी : जीप दुर्घटना हुँदा गुल्मीमा एकै परिवारको पाँच जना घाइते भएका छन् । भाइटीका लगाइदिन शुक्रवार माइत जाँदै गर्दा बा १० च ६१५२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा रेसुङगा नगरपालिका १ की ४५ वर्षीया निर्मला केसी, २३ वर्षीया सन्ध्या केसी, २६ वर्षीया प्रवेश केसी, १६ वर्षीया पुष्पा राना र […]