हुलाकी सडकको ६० प्रतिशत काम अझै अलपत्र

१५ कार्तिक २०७५, बिहीबार १८:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  सम्झौता सकिन करिव ९ महिनामात्र बाँकी हुँदा बाँकेमा निमार्णाधिन हुलाकी सडकको ६० प्रतिशत निर्माणको काम अझै अलपत्र परेको छ ।
नेपालगन्जको पुष्पलाल चोकदेखि पूर्व बघौडासम्मको ४४ दशमलभ ६ किलोमिटर सडकको निर्माण मध्ये अहिलेसम्म ४० प्रतिशत मात्रै सडक निर्माण भएको कन्ट्रक्सन कम्पनी गणपति ग्रुपअफ कन्सट्रक्सन प्रालिका फिल्ड प्रबन्धक इन्द्र कसीले जानकारी दिए ।
३० महिनाभित्र निर्माण पूरा गर्ने गरी २०७३ फागुनदेखि पप्पु–लुम्बिनी जेभीले ठेक्का लिएको सो योजना निर्माण कम्पनीको ढिलासुस्ती र सरकारी उदासिनताको कारणले अहिले पनि पुरा हुन भन्दा पनि काम कछुवाको गतिमा अघि बढेको छ ।
जनआन्दोलन २०६२÷६३ पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा भारतीय अनुदानमा हुलाकी सडक बनाउन समझदारी भएको थियो । भारतले त्यतिबेला ८ अर्ब रुपैयाँ दिने कबोल गरे पनि अहिले त्यसको लागत करिब १५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
सन् २०१० मा सम्झौता भएको ६ वटै खण्डको काम सन् २०१३ अन्त्यसम्ममा सक्नुपथ्यो । तर, बीचमा भारतीय कम्पनीले ३ प्रतिशत पनि काम नगरी काम छोडेपछि २०७३ मा नेपाल सरकारले पप्पु लुम्बिनीलाई निर्माणको जिम्ेवारी दिए पनि फिल्डमा भने गणपति ग्रुपअफ कन्सट्रक्सन प्रालिले गर्दै आएको छ ।
निर्माण सुरु भएको सात वर्षमा चालिस प्रतिशत मात्र निर्माण भएको छ । अझै ६० प्रतिशत निर्माण अलपत्र सो सडकमा निर्माण गर्नुपर्ने ५७ वटा कलर्भड मध्ये १४ वटा र तीनवटा कचवे मध्ये एउटा अझै निर्माण गर्न बाँकी रहेको सडक निर्माण कम्पनीका फिल्ड प्रबन्धक केसीले बताए ।
उनका अनुसार नेपालगन्जको पुस्पलालचोकदेखि बसपार्क हुँदै राप्तीसम्मको सडक आगामी मंसिरदेखि कालोपत्रे गरिने तयारी भईरहेको छ । पप्पु लुम्बीनी जेभीको कारणले गर्दा ६ महिनादेखि सडक निर्माणको रकम रोकिएको छ उनले भने ‘यसले गर्दा काममा केही समस्या भने देखिएको छ ।’
बाँकेमा निर्माणधीन अन्य ठूला योजनालाई निर्माण समाग्रीको अभाव हुँदा सरकारलाई भनेर जुनसुकै ठाँउबाट ढुंगा, गिट्टी र बालुवा झिक्ने सुविधा पाएको सो परियोजनाले अहिलेसम्म ४० प्रतिशत काम मात्रै गरेको छ ।
सडक निर्माणको शुभारम्भ गर्दै तत्कालिन भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले सडकको लागि चाहिने बजेट जति पनि दिन सरकार तयार रहेको बताएका थिए । तर, अहिले बजेट निकासा नभएकै कारण निर्माणमा समस्या भईरहेको केसी बताउँछन् ।
बाँकेको राप्तीपारीका तत्कालिन नौ गाविसलाई नेपालगन्जसम्म जोड्नको लागि नेपालगन्ज–बघौडा हुलाकी सडक निर्माणपछि यस क्षेत्रको विकासमा रहेको पछ्यौटेपन हटेर जाने अधिकंशको विश्वास छ ।
अहिले सडक अभावका कारण राप्तीपारीका अधिकांश बासिन्दालाई भारतको बाटो भएर नेपालगन्ज आउनु पर्ने बाध्यतासंगै सबै कारोबार भारतमै गएर गर्न बाध्य छन् ।

Next Post

फत्तेपुर र नरैनापुरमा कृषि उपज संकलन केन्द्र निर्माण गरिने

१५ कार्तिक २०७५, बिहीबार १८:३२
सदरलाइनडटकम,  नेपालगञ्ज  :  प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी (नमुना)ले राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा र नरैनापुर गाउँपालिकामा अत्याधुनिक कृषि उपज संकलन केन्द्र निर्माण गर्न प्रतिबद्वता जनाएकी छन् । बिहीबार राप्तीसोनारीको बिनौनामा साकार कृषि सहकारी संस्थाको सातौ बार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रदेश सांसद नमुनाले राप्तीपारीलाई कृषिजन्य बस्तु उत्पादनको हब बनाइने प्रतिबद्वता […]