प्रभात माविका लागि बस किन्ने सहयोग थपिदै

२६ आश्विन २०७५, शुक्रबार १४:५६
 

सदरलाइनडटकम,  
बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका–५ अरनिकोनगर जीगाउँको प्रभात माध्यमिक विद्यालयका लागि बस किन्नको लागि स्थानीय अभिभावकले सहयोग गर्ने क्रम जारी छ ।
गत हप्ता आयोजना गरेको भेलामा १८ लाख २ हजार संकलन गरेका अभिभावकले शुक्रबारसाँझसम्म थप १० लाख ८५ हजार संकलन गरी बस किन्नको लागि २८ लाख ८७ हजार रकम संकलन भईसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व सिँचाई राज्यमन्त्री दलबहादुर सुनारले जानकारी दिए ।
थप रकम सहयोग गर्नेहरुमा कोहलपुर न्यु सिटिका प्रकाश आचार्यले २ लाख १ हजार, सफल ईटा उद्योगले १ लाख ११ हजार १ सय ११, साझा ईटा उद्योगले १ लाख २१ हजार, बनकटवा माछा पोखरी १ लाख, बनकटवा प्लाईउड फ्याक्ट्रीका धनबहादुर खड्काले ५१ हजार उपलब्ध गराएका थिए ।
सामुदायिक विद्यालयलले पनि निजि विद्यालयको जस्तै सेवा र सुविधा दिनको लागि विभिन्न योजनाहरु अघि सार्दै विद्यार्थीलाई आफुतिर आकर्षण गर्नको लागि विद्यालयले बस किन्ने योजना अघि सार्दै आएको र यसका लागि विद्यालयलाई कम्तीमा पनि २६ लाख रुपैयाँ आवश्यक रहेको जनाएको छ ।
दशैंको शुभकामना आदान–प्रदान कार्यक्रमका लागि विद्यालयले अघिल्लो साता डाकेको भेलामा ५० जना अभिभावकबाट १८ लाख दुई हजार रुपैयाँ संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व सिँचाई राज्यमन्त्री सुनारले बताए ।
सो अवसरमा सुनारले स्व.पत्नी कमलादेवी सुनारको सम्झनामा एक लाख एक हजार एक सय ११, शिक्षक अभिभावक संघका अध्यक्ष कुवेर रिजालले एक लाख पाँच हजार दुई सय एक रुपैयाँलगायत १२ जनाले एक लाख रुपैयाँभन्दा बढी सहयोग गरेको विद्यालयका प्रधानाध्यापक नगेन्द्रराज सुवेदीले जानकारी दिए ।
२०२५ सालमा स्थापना भएको यो विद्यालयमा अहिले पनि एक हजार एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले प्लस टु पनि सञ्चालन भइरहेको छ ।
विद्यालयमा विद्यार्थीको चाप बढाउनको लागि शैक्षिक गुणस्तर बढाउनुको साथै भौतिक सुविधा पनि दिदै जाने योजनामा यो शैक्षिक सत्रबाटै विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीका लागि स्कुलको बस सञ्चालन गर्ने योजना बनाएर अघि बढेको अध्यक्ष सुनारले जानकारी दिए ।

Next Post

दशैँको मुखैमा नगरपालिकाद्वारा बजार अनुगमन

२६ आश्विन २०७५, शुक्रबार १४:५६
सदरलाइनडटकम, रुकुम : हिन्दुहरुको महान पर्व दशैंको मुखैमा कालो बजारीलाई रोक्न रुकमको मुसीकोट नगरपालिकाले बजारमा अनुगमन गरेको छ । नगरपालिकाले खलंगा बजारका खाद्य तथा किराना एवं एग्रोभेट र मासु पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा कतिपय पसलमा अखाद्य वस्तु तथा म्याद गुज्रिएका सामानसमेत भेटिएको थियो । अधिकांश पसलमा मूल्यसुची नराखिएको, […]