सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरमा शुक्रवार प्रहरीले आन्दोलनकारीलाई लक्षित गरी गोली चलाउँदा एक बालकको मृत्यु भएको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै शुक्रवारको आन्दोलन काबुभन्दा बाहिर जान थालेपछि प्रहरीले चलाएको गोली लागेर १२ वर्षीय बालक चेतन भट्टको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले प्रदर्शनकारीलाई नियन्त्रण गर्न गोली चलाइएको बताए । गोली लागेर केही आन्दोलनकारी घाइते भएपनि संख्या यकिन नभएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले जानकारी दिए ।
आन्दोलनकारीले प्रशासन कार्यालयमा तोडफोड गर्न खोज्दा गोली चलाउनु परेको उनले बताए । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर स्थानीयबासी आक्रोशित भएपछि कञ्चनपुर तनावग्रस्त बनेको छ ।
