सदरलाइनडटकम,
नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं १ (क) की प्रदेश सभा सांसद कृष्णा केसी (नमुना) ले बाँकेको सोनारी–बघौडा ग्रामीण सामुदायिक विद्युतीकरणको बिषयमा विद्युत प्राधिकरणका अधिकारीसँग छलफल गरेकी छन् ।
विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगन्जमा पुगेर प्रदेश सांसद नमुनाले शुक्रबार विद्यूत् विस्तारमा भइरहेको प्रगती र अवस्था बारे जानकारी लिएकी हुन ।
उनले कार्यालय प्रमुख मनोज सिहं तथा अन्य अधिकारीहरुसँग लामो समयदेखि रोकिराखिएको राप्तीपारी क्षेत्रको विद्यूतको काम अब कसरी छिटो भन्दा छिटो अगाडि बढाउन सकिन्छ भन्ने बारेमा झण्डै २ घण्टा छलफल गरिन ।
मन्त्रिपरिसद्को बैठकले कोहलपुर–धामपुर ३३ हजार केभि. प्रसारण लाइनको ‘राइअफ वे’ निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै अब कसरी छिटो काम अगाडि बढाउने भन्ने बिषयमा प्राधिकरणका अधिकारीसँग सांसद नमुनाले छलफल गरेकी हुन ।
तत्कालिन अवस्थामा जनार्दन शर्मा उर्जामन्त्री भएको बेला बर्षौदेखि रोकिएको प्रसारण लाइनको लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गराउनको लागि सांसद नमुनाले फाइल खोजेर पुनः प्रक्रिया अगाडि बढाउनको लागि पेश गरेकी थिईन ।
‘उतीबेला मन्त्रालयमा पेश गरिएको बिषयले केही दिन अघि मात्र बसेको मन्त्रिपरिसद्को बैठकले प्रसारण लाइन निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेसँगै पुर्णता पाएको छ’–उनले भनिन ।
कोहलपुर–धामपुर ३३ हजार केभि प्रसारण लाइन निर्माणका लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएसँगै अब विद्युत विस्तारको काम तिव्र गतीमा अगाडि बढाउन प्राधिकरणका अधिकारीहरुलाई उनले आग्रह गरिन ।
प्राधिकरणका अधिकारीहरुलाई अब कुनै पनि समस्या देखाएर काम ढिलासुस्ती गर्न नहुने भन्दै उहाँले अब जती सक्दो छिटो राप्तीपारीमा बिजुलीबत्ति बल्नुपर्ने बताईन ।
धामपुरको सब–स्टेशनबाट साविकको बैजापुर र नरैनापुर गाविसमा विस्तार गरिने ११ हजार केभी वितरण लाइनको डिजाइन स्वीकृती गराउन आफुले थाल्ने भन्दै काम सुरु गर्न लागि ठेकेदारलाई तयारी हालतमा बस्न सांसद नमुनाले आग्रह गरिन । छलफलमा कार्यालय प्रमुख मनोज सिंहले ठेकेदार गुरुओम उष्मा प्रालिले चैत्र अन्तिमसम्म विद्यूतिकरणको काम सक्नेगरी नयाँ सम्झौता गरेको जानकारी दिए । कार्यालय प्रमुख सिंहले सांसद नमुनाको अथक पहलमा वन क्षेत्र प्रयोग गर्ने निर्णय भएको भन्दै अबको केहीदिनमा नै प्रक्रिया पु¥याएर रुख काट्नको लागि वन कार्यालयलाई पत्र लेख्ने बताए ।
धामपुरको सब–स्टेशनबाट साविकको बैजापुर र नरैनापुर गाविसमा विस्तार गरिने ११ हजार केभी वितरण लाइनको डिजाइन स्वीकृती नहुँदा ठेक्का भइसक्दा पनि काम हुन सकेको छैन ।