सदरलाइनडटकम,
धनगढी : उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने मुख्य नाराका साथ बुधवारदेखि धनगढीमा प्रदेश युवा सम्मेलन २०१९ शुरु भएको छ । नेपाल युवा परिषदले पहिलो पटक सुदूरपश्चिम प्रदेशमा सम्मेलन आयोजना गरेको छ ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका युवाहरुको सहभागितामा शुरु भएको सम्मेलनको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरे । मन्त्री सुवेदीले राष्ट्रको विकास र समाज परिवर्तनमा युवाको महत्वपूर्ण भुमिका हुुने हुदाँ युवाहरुलाई उद्यमशिलतामा जोड दिनुपर्ने बताए ।
सो अवसरमा उनले सुुदूरपश्चिमको पर्यटन प्रचारप्रसारका लागि नेपाल युवा परिषदले निर्माण गरेको भिजिट सुदूरपश्चिम डटकमको अफिसियल वेबसाईट औपचारिकरुपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले युवा परिवर्तनका संवाहक भएकोले विश्वकै मुहार फेर्ने अठोटका साथ लक्ष्य निर्धारण गरी अगाडी बढ्न सुझाव दिए । उनले सुदूरपश्चिम विभिन्न सम्भावना र अवसरले भरिएको प्रदेश भएकोले हरेक युवाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बानिगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोकबहादुर साउँद, कोकाकोला नेपालका इरिना कार्की गुरुङ, अक्सफाम ट्रोसा परियोजना संयोजक समीरा शाक्यलगायतको उपस्थिती रहेको थियो । दुई दिन सम्म चल्ने आवासीय सम्मेलनमा युवाहरुलाई पर्यटन, सुचना प्रविधि, दिगो विकासका लक्ष्यहरु, जलवायु परिवर्तन, भिजिट नेपाल २०२०, युवा उद्यमशिलता, नेतृत्व विकास, युथ मोटिभेशनलगायतका विषयमा प्रशिक्षण दिईने आयोजक संस्थाका संस्थापक अध्यक्ष सरोज बानियाले बताए ।
