नेपालगन्ज उप–महानगरमा कान्जीहाउस निर्माणका लागि छुट्टयाइएको २५ लाख फ्रिज

१८ श्रावण २०७५, शुक्रबार १८:४६
 

सदरलाइन / यदुराज मिश्र
नेपालगन्ज : नेपालगन्जमा नयाँ कान्जीहाउस निर्माणका लागि बिनियोजन गरिएको २५ लाख रुपैयाँ फ्रिज भएको छ । आर्थिक वर्ष ०७४/०७५ मा नेपालगन्ज उप–महानगरपालिकाले कान्जी हाउस निर्माणका लागि विनियोजन गरेको २५ लाख रुपैयाँ फ्रिज भएको हो ।
कान्जी हाउस निर्माणका लागि जग्गाको टुंगो नलागेपछि रकम फ्रिज भएको मेयर डा. धवल शमशेर राणाले बताए । जग्गा खोज्दै गर्दा आर्थिक वर्ष सकिएको भन्दै उनले चालू आर्थिक बर्षमा निर्माण सम्पन्न हुने दावी गरे ।
उनले छाडा पशुचौपाया धपाएर नियन्त्रण गर्न नसक्ने बताए । खुल्ला सीमानाका कारण भारतबाट नेपालगन्जमा पशुचौपाया भित्रिने गरेको बताउँदै उनले छाडा पशुचौपाया नियन्त्रण उपमहानगरपालिकाका लागि टाउको दुखाई भएको स्वीकारे । ‘छाडा पशुचौपाया नियन्त्रण हाम्रो ‘अधिन’ भन्दा बाहिर गइसकेको छ,’ मेयर राणाले स्वीकारे ।
छाडा चौपाया नियन्त्रणका लागि उपमहानगरपालिकाले जिल्ला समन्वय समितिसँग आग्रह गरेको छ । समन्वय समितिसँग साउन २१ गते छलफल गरिने मेयर राणाले जानकारी दिए । उनले भने, हामीले जति गरेपनि सकेनौँ समन्वय समितिले कुनै निकास निकाल्छ कि अपेक्षा छ ।’
नगरको एकमात्र कान्जीहाउस त्यो पनि बन्द
नेपालगन्जस्थित फुल्टेक्रामा रहेको एकमात्र कान्जीहाउस बन्द भएको छ । २०१७ सालदेखि सञ्चालित कान्जीहाउसमा छाडा पशुचौपाया राख्नसक्ने अवस्था नभएपछि गत बुधबारबाट बन्द गरिएको निरीक्षण उपशाखा प्रमुख पवन कनोजियाले बताए ।
विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएका चौपायालाई लिन पशुधनी नआएपछि कान्जीहाउसमा राख्नुको कुनै अर्थ नभएकोले बन्द गरिएको कनोजियाले बताए । उनले छाडा पशुचौपाया नियन्त्रण गर्न अर्को ब्यवस्था नहुँदासम्म कान्जीहाउस बन्द रहने स्पष्ट पारे । एकसय चौपाया अट्ने क्षमता भएको ५८ वर्ष पुरानो कान्जीहाउसमा सडक र गल्लीमा डुल्ने छाडा चौपाया नियन्त्रणमा लिई कान्जीहाउसमा राख्ने गरिएको थियो ।

Next Post

बँदेलले वर्षे बाली सखाप पारेपछि किसान चिन्तित

१८ श्रावण २०७५, शुक्रबार १८:४६
सल्यान,  जिल्लाका कतिपय स्थानममा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् । वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो । गाउँ नजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको छ । […]