सदरलाइनडटकम
गंगापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ को कार्यालय बुधबारदेखि आफ्नै नयाँ भवनमा सरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जमुनीमा नवनिर्मित ४ कोठे भवनको उद्घाटन गरे पछि आफ्नै भवनबाट वडा कार्यालय सञ्चालनमा आएको हो ।
३८ लाखको लागतमा एक बैठक कक्षसहित ४ कोठे भवन निर्माण गरिएको वडा सचिव प्रेमप्रसाद उपाध्यायले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहले आफ्नै भवन भएपछि अब सेवाग्राहीलाई सेवा दिन सहज हुने भन्दै जनताको काममा कुनै ढिलाई र कञ्जुस्याइँ नगर्न निर्देशन दिए ।
यसअघि गंगापुरमा रहेको कार्यालयमा बाढी पसेर कागजपत्र नष्ट हुने समस्या रहेकोमा अब त्यो सम्भावना टरेको वडा नम्बर ६ का वडा अध्यक्ष विरेन्द्रपाल सिंहले बताए ।
यसैगरी बुधबार नै वडा नम्बर ६ भोजपुरस्थित जय किसान माध्यामिक विद्यालयको नवनिर्मित २ कोठे भवनको पनि उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालय बाँकेको आर्थिक अनुदान र स्थानीय जनश्रमदानमा निर्मित भवनको गाउँपालिकाका अध्यक्ष शाहले उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहले शिक्षा नै विकासको आधार भएकाले आफ्नो पहिलो एजेण्डा नै शिक्षा भएको भन्दै यसका लागि आफूले अर्जुनदृष्टि लगाएर काम गरिरहेको बताए ।
बघौडाको शैक्षिक सुधार आफ्नो पहिलो एजेण्डा भएको अध्यक्ष शाहले उल्लेख गर्दै विद्यालयहरुलाई भौतिक पूर्वाधार सम्पन्न बनाउन आफूले सक्दो कोशिस गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।