चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास

६ असार २०७५, बुधबार १६:४७
 

बेइजिङ । राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् ।

पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा नाका खुलाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति शीले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् ।

रेल्वे निर्माणबारे भोलि दुई देशबीच सम्झौता पनि हुँदैछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार रेल्वेको डीपीआर निर्माणबारे समझेदारी हुन लागेको हो ।

अहिले जारी रहेको पूर्वसम्भाव्यता अध्ययन अगस्टमा सकिनेछ । नेपालले अनुदानमा बनाइदिन आग्रह गरे पनि रेल्वे निर्माणको मोडालिटी टुंगिएको छैन ।


चीनले पूर्ण अनुदानमा बनाउन नमाने केही अनुदान र केही सहुलियतपूर्ण ऋणमा भएपनि बनाउने सरकारको योजना छ । यो रेल नाफा घाटा भन्दा पनि रणनीतिक महत्वको भएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘मोडालिटीबारे हामी छलफलमै छौं । तर, हामी आफ्नो तर्फबाट पनि योगदान गर्न तयार छौं ।’

राष्ट्रपति सी नेपालले अघि सारेको प्राथमिकता र दृष्टिकोणको सानिध्यमा रहेको पाएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘छलफलबाट हामी उत्साहित छौं ।’

स्वागत गर्न आतुर छौं : ओली

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका छन् । सीले एसियाका धेरै देशको भ्रमण गरेको उल्लेख गर्दै उनले नेपाली जनताले पनि स्वागतको चाहना राख्नु स्वभाविक भएको बताएका छन् ।

नेपालमा स्थायित्व भएको र यो उपयुक्त समय भएको भन्दै शीले दुबैतर्फ अनुकुल समय मिलाएर नेपाल आउने बताएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

(अनलाइनखबरबाट)

Next Post

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

६ असार २०७५, बुधबार १६:४७
रमेश लम्साल काठमाडौँ । दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिनका तर्फबाट उपाध्यक्ष सू गाङले हस्ताक्षर […]