सदरलाइनडटकम
१८ जेठ, नेपालगन्ज : भन्सार छलेर सामान ओसार्ने काम गर्न नमानेको हुँदा यहाँ एक जना भारतीय व्यापारीले आफ्नै कर्मचारी माथि हातपात गरेर नोकरीबाट निकालेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं। १२ सुर्खेत रोडमा दुई महिना अघि खोलिएको हृद्धिमा इन्टरनेसनल नामक किराना पसलका मालिक शुभम् कनोडियाले आफ्नो पसलमा काम गर्ने सुर्जी गाउँ बस्ने आकाश जायसवाल माथि हातपात गरी नोकरीबाट निकालेका हुन् ।
बिहीवारका दिन अपरान्ह २ बजेको प्रचण्ड गर्मीको बेला साइकलमा सीमा पारीको भारतीय बजार रुपइडिहा जाऊ भन्दा आफुले खुट्टा दुखेको र जान नसकेपछि कनोडियाले जागिरबाट निकाल्दै कुटपिट गरेको पीडितको भनाई छ ।
भारतको कानपुर निवासी निज कनोडियाले नेपालको श्रम ऐन विपरीत विहान ९ बजेदेखि साझ ८ बजेसम्म काममा लगाउँथे, जबकी नेपालमा ७ घण्टा मात्र काम गर्ने नियम छ । थोक व्यापार गर्न भनि खोलिएको उक्त हृद्धिमा इन्टरनेसनल नामक किराना पसलका मालिकले सातामा एक दिन शनिवार विदा दिने शर्तमा काम गर्न राखेकोमा आफुलाई पटक–पटक भन्सार छलेर सामान ओसार्ने अवैध काममा समेत लगाउन खोजेको पीडितले बताए । उक्त पसलमा गत महिना इजाजत बिना मदिरा र वियर जस्ता पेय पदार्थ पनि बेच्दै आएका थिए । शुक्रवार निज शुभम् कनोडियालाई वडा प्रहरी कार्यालयमा हाँजिर गराई आफुबाट गल्ती भएको भनी गल्ती स्वीकारेको थाहा लागेको छ ।