बागेश्वरी मन्दिरको खजाना खोलियो अपेक्षा गरे अनुसारको सम्पत्ति भेटिएन

३० फाल्गुन २०७४, बुधबार १८:१९
 

सदरलाइनडटकम
३० फागुन, नेपालगन्ज : प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको खजाना बुधबार नेपालगन्जमा खोलिदा अपेक्षा गरिए अनुसारको गरगहनाका साथै खरखजाना भेटिएन । बागेश्वरी मन्दिरमा चढाईएका भेटी गरगहना र नगद राखिएको दुई वटा तिजोरी ‘खजाना बाकस’ बुधबार सर्व पक्षिय उपस्थितिमा खोलिएको हो ।
खोलिएका दुई तिजोरी मध्ये एउटामा मालपोत कार्यालयका रसिदको ठेली भेटीएको र अर्कोमा सुन ,चाँदी, पित्तलको गरगहना मात्र भेटिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सदस्यसचिव गोपालप्रसाद अधिकारीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार एउटा तिजोरीमा २० केजी ३ सय ग्राम चाँदी, २ तोला सुन र डेढ तोला पित्तलसंगै पृथ्वीनारायण शाहकालिन चाँदीका सिक्काहरु जडेर बनाईएको एउटा माला पनि पाईएकोे छ । भने अर्कोमा २०३० साल अघिको मालपोत उठाएको रशिदमात्र फेला परेको छ ।
उनले तिजोरीभित्र फेला परेका गरगहना र त्यहाँ भेटिएका अन्य प्रमाणहरु हेर्दा २०६३ सालसम्म यो बाकस खोल्ने र बन्द गर्ने गरिएको दाबी गर्दै भने–‘तिजोरी खोल्दा भेटिएको बोराभित्रको कागजको पेटी, प्लास्टिकको झोला र केही गहनाको मोडल हेर्दा १० बर्षअघिसम्म यो तिजोरी खोल्ने र बन्द गर्ने गरेको स्पष्ट हुन्छ ।’, सुनचाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाउद्दिन जसगढले कम्तिमा पनि १० वर्ष अघिसम्म बाकस खोल्ने र बन्द गर्ने गरिएको हुनसक्ने अन्दाज गर्दै भने–‘पृथ्वी नारायण शाहको पालाको चाँदीको सिक्का र भर्खरै बनेका गरगहना हेर्दा कम्तिमा पनि १० बर्षअघि बाकस खोलिएको थियो भन्न सकिन्छ ।’
मालपोत कार्यालयमा रहेका दुई वटा बाकसमा बागेश्वरी मन्दिरमा चढाईएका गरगहना, हिराजवाहरात र नगद प्रशस्तै रहेको स्थानीयको बुझाई भएपनि बाकस खोलेर हेर्दा अपेक्षा गरे अनुसार त्यस्तो केही नभेटिए पछि नैराश्यता छाएको छ । बागेश्वरी मन्दिरका ती बाकस मालपोत कार्यालयमा कहिले र कसलाई बुझाईएको थियो भन्ने कुनै अभिलेख नै छैन ।
ठूलो तिजोरीमा जग्गाको मालपोत राजश्व तिरेका रसिदहरु मात्र फेला परेका छन् । जुन बि.सं. २०३० साल अगावैका हुन् । बागेश्वरी मन्दिरको बाकसमा मालपोत कार्यालयका रसिदहरु भेटिएपछि त्यसमा रहेको भनिएका गरगहनाहरु के भए प्रश्न उठेको छ । अर्को बाकसमा भेटिएका कतिपय चाँदीको छतरी (छाता), सिंहासन, सुनको तिलहरी लगायतका गरगहना हालसालै बनाईएको पाईएकाले यसबारे विस्तृत अनुसन्धान गर्न आवश्यक देखिएको छ ।
बाँकेका एक प्रहरी अधिकारीका अनुसार पनि बाकसभित्र भेटिएको प्लास्टिक झोला, भर्खरै बनाएको तिलहरी, कागजको कार्टुन लगायतका चिजहरु हेर्दा शंका÷उपशंका गर्ने ठाउँ प्रशस्तै देखिने ठोकुवा गर्दै भने–‘ बेईमानी गर्नेले पर्याप्त ध्यान नपु¥याएको पाईयो । यस विषयमा प्रहरी मात्रले चाहेर अनुसन्धान बढाउन सकिदैन तर, अनुसन्धान गर्ने वा यसैमा चित्त बुझाउने भन्ने बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिमा निर्भर रहन्छ ।’
बागेश्वरी मन्दिरको सम्पत्ति रहेको भनिएको तिजोरीका विषयमा सरकारी अधिकारीहरुसँग पनि स्पष्ट जानकारी छैन । मन्दिरको सुनचाँदी र नगद लगायतका सम्पत्ति राखिएको भनिएको बाकस ३० वर्ष अघिदेखि मालपोत कार्यालयको स्वामित्वमा रहँदै आएको थियो ।
पुरातत्व विभाग, गुठी संस्थान, स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारीहरुको रोहबरमा खोलिएको बाकसमा भेटिएका सुन, चाँदी र पित्तल बुधबार नै नेपाल बैंक लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जको लकरमा राखिएको छ ।


   

Next Post

२० वर्ष पुराना ट्रक बरामद

३० फाल्गुन २०७४, बुधबार १८:१९
सदरलाइनडटकम    १ चैत, नेपालगन्ज : २० वर्ष पुराना सवारी साधन प्रतिबन्ध गरेपछि ट्राफिक प्रहरीले बिहिवार कोहलपुरको चप्परगौडीबाट दुईवटा ट्रक बरामद गरेको छ । निकै पुरानो अवस्थाका ती ट्रकहरु बरामद गरी यातायात व्यवस्था कार्यालय भेरीको जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक होम थापाले जानकारी दिए । […]