सदरलाइनडटकम
२५ फागुन, नेपालगन्ज : बाँकेलाई जिल्लालाई खुला दिसामुक्त बनाउने अभियान तीव्रताका साथ अगाडि बढाईएको छ । यही वर्षभित्र जिल्लालाई नै खुला दिसामुक्त बनाउने अभियान अन्तर्गत नेपालगन्ज उप–महानगरपालिकाका वडाहरुबाट घोषणा कार्यक्रम सुरु भएको छ ।
जस अन्तर्गत बिहीबार नेपालगन्ज उप–महानगरपालिका १७ लाई खुला दिसामामुक्त घोषणा गरिएको छ । नगरलाई खुला दिसामुक्त गरी सफा र स्वच्छ नगर निर्माणका लागि वडा नम्बर १७ लाई एक औपचारिक कार्यक्रमकाबीच घोषणा गरिएको नेपालगन्ज उप–महानगरपालिकाले जनाएको छ । जम्मा सातसय ८६ घरधुरी रहेको वडामा ९७ प्रतिशत घरमा शौचालयको व्यवस्था भएपछि घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले जग्गा र आर्थिक समस्याकै कारण सौचालय निर्माण गर्न नसकेकाहरुलाई वडासँग समन्वय गर्न आग्रह गरे । तर स्रोत हुँदा हुँदै पनि अभियानलाई प्रभावित पार्ने गरी सौचालय निर्माण नगरिएको पाइएमा कारबाहीको भागीदार बनाउने चेतावनी समेत दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले खुला दिसामुक्त क्षेत्र घोषणा हुने तर पछि कार्यान्वयन नहुँदा समस्या दोहोरिएको भन्दै प्रभावकारी अनुगमन निरन्तर जारी राख्नुपर्ने बताए । उनले सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिन वडालाई अनुरोध गरे ।
खुला दिसामुक्त घोषणा कार्यक्रममा वडाअध्यक्ष अजयकुमार पाठकले सबै नागरिकको सहयोगले घोषणा गर्न सफल भएको भन्दै आगामी दिनमा पनि कार्यान्वयनका लागि सहयोग जारी राख्न अनुरोध गरे ।
वडाबासीले घोषणापछि कार्यन्वयनको लागि १३ बुँदे प्रतिबद्धता समेत जनाएका छन् । ‘अब कसैले खुला रुपमा दिसा गरेको पाइएमा कडा कारबाही गरिनेछ,’ अध्यक्ष पाठकले भने, ‘घोषणाका लागि सहयोग गर्ने तपाईसबैप्रति आभार छु, अब पूर्ण सरसफाइका लागि पनि यस्तै सहयोग गर्नुहोस् ।’